हेटौंडा – बाराको टाँगियावस्तीबाट वन्यजन्तु तस्करमा संलग्न रहेका एक व्यक्तिलाई पक्राउ गरेर लैजाने क्रममा स्थानीयहरुले प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेका छन् । स्थानीयहरुले ढुङ्गामुढा प्रहार गर्दा पक्राउ गरिएका स्थानीय सागर लामा फरार भएका छन् ।
गोप्य सूचनाको आधारमा प्रहरी निरीक्षक घनश्याम श्रेष्ठको कमान्डमा १५ जनाको टोली मंगलवार बिहान टाँगियावस्तीस्थित लामाको घरमा खानतलासी गर्न पुगेको थियो । घरबाट भरुवा बन्दुक, वन्यजन्तुको दाँत, नङ्ग्रा, हात्तीको रौँ फेला परेपछि प्रहरीले लामालाई नियन्त्रणमा लिएको थियो ।
लामालाई नियन्त्रणमा लिएर फर्किने क्रममा टाँगिया बस्तीका स्थानीयले प्रहरीलाई चारैतिरबाट घेराबन्दी गरेर ढुङ्गामुढा गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । करिब ३ सयको सङ्ख्यामा आएका स्थानीयहरुले प्रहरीलाई घेरा हालेर लामालाई भगाएको बारा प्रहरीले जनाएको छ ।
लामालाई हतकडीसहित प्रहरी टोलीबाट खोसी स्थानीयवासीले भगाउने क्रममा उनलाई भाग्न नदिने र भीड हटाउन ५ राउन्ड हवाई फायर समेत गरेको थियो । फरार लामाको खोजी भइरहेको र प्रहरीलाई दुर्व्यवहार गर्नेलाई अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउँने जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए ।
प्रहरीले लामाको घरबाट लोड भएको भरुवा बन्दुक १ थान, बन्दुकको बारुत, छर्रा, जनावरको दाँत २ वटा, हात्तीको रौँ १३ वटा, जनावरको नङ्ग्रा ३ वटा बरामद गरेको थियो । लामाले पर्सा राष्ट्रिय निकुञ्जका वन्यजन्तु मारेर तस्करी गर्ने गरेको र उनको अन्य वन्यजन्तु तस्करहरूको गिरोहसँग उठबस रहेको हुन सक्ने प्रहरीले जनाएको छ ।