हेटौंडा – छुट्टाछुट्टै स्थान भएको सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा आइतबार बेलुकी प्रदेश १(०५(००१ प ४४६८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार त्रियुगा नगरपालिका १ का २० वर्षीय भुपेन्द्र चौधरी रहेका छन् । गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालक १८ वर्षीय अविशेक चौधरीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोतिगडाबाट जोगिदहतर्फ जाँदै गरेको मोटरसाइकल आइतबार बेलुकी साढे ८ बजे अनियन्त्रित भइ पल्टिएको थियो ।
त्यस्तै कैलालीको भजनी नगरपालिका ६ मा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भजनी नगरपालिका २ बस्ने ७० वर्षीय भड्डु डगौरा रहेका छन् । गम्भीर घाइते भएका डगौराको उपचारको क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको हो । हिजो बेलुकी ८ बजे नम्बर नखुलेको मोटरसाइकलले पैदल हिडिरहेका बृद्धलाई ठक्कर दिएको हो । मोटरसाइकल सहित फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै सुनसरीको बराहक्षेत्र नगरपालिका ६ मा हिजो बेलुकी बलेरो जिप दुर्घटना हुँदा २ जना घाइते भएका छन् । जिप चालक मोरङको सुन्दरहरैचा बस्ने ३६ वर्षीय गुणराज राई र सोही गाडीमा सवार सुनसरीकै इटहरी बस्ने ४५ वर्षीय निर बहादुर बि.क घाइते भएका हुन् । घाइतेमध्ये वीर बहादुरको अवस्था गम्भीर रहेकाले थप उपचारको लागि विराट नर्सिङहोम बिराटनगर पठाइएको छ भने चालकको बि पि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । प्रदेश १–०४–००१ च ०५३० नम्बरको जिप हिजो बेलुकी पौने ७ बजे अनियन्त्रित भइ पल्टिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।