प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

दिनदाहाडै खुकुरी प्रहार गरी लामिछानेको हत्या, दुई जना घाइते

२०८० आश्विन ६, शनिबार १०:११ बजे

काठमाडौं – दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या भएको छ भने खुकुरी प्रहारबाट दुई जना घाइते भएका छन् ।

शनिबार दिउँसो २ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुराका अन्दाजी ४२ वर्षीय टेकबहादुर हमालले खुकुरी प्रहार गरी स्थानीय ४३ वर्षीया रिता लामिछानेको हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

खुकुरी प्रहारबाट स्थानीय अन्दाजी ६५ वर्षीया चन्द्रकुमारी हमाल र उनका छोरा ४५ वर्षीय वीरबहादुर हमाल गम्भीर घाइते भएका छन्। उनीहरूको हाल राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार गर्ने हमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। घरमा बसेर कपासको बत्ती काटिरहेकी रिता लामिछानेमाथि हमालले आक्रमण गरेका थिए। टेकबहादुरले आफूलाई देउता चढेको भन्दै कुनै रिसिबी नभएका छिमेकी र गाउँलेहरूमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । आरोपितलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।