प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

खाने तेलको मूल्य ब्यापारीलाई घट्यो, उपभोक्तालाई घटेन

२०७९ असार ३१, शुक्रबार १४:०६ बजे

काठमाडौँ – बजारमा खाने तेलको मूल्यमा सस्तो भएको भनिए पनि उपभोक्ताले भने घटेको मूल्यमा तेल पाउन सकेका छैनन् । उद्योगीले खुद्रा मूल्य घटाएको भए पनि त्यो तेल बजारमा नपुगेकाले उपभोक्ताले घटेको मूल्यमा तेल नपाएका हुन् ।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार हाल खाने तेलको मूल्य प्रतिलिटरमा २०-२५ रुपियाँसम्म घटेको छ तर उद्योगीले भनेजस्तो प्रतिलटरमा ४० रुपियाँ घटेको मूल्य अहिलेसम्म बजारमा आइपुगेको छैन । सङ्घका महासचिव आमूल तुलाधरले पछिल्लो एक महिनाको अवधिमा खाने तेलको मूल्य प्रतिलिटर २५ रुपियाँसम्म सस्तो भए पनि प्रतिलिटरमा ४० रुपियाँ घटेको तेल अहिलेसम्म बजारमा नआएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “बजारमा घटेर आउनेबित्तिकै घटेकै मूल्यमा बिक्री हुन्छ । खुद्रा व्यापारमा उद्योगीको जस्तो एकछत्र होइन, हाम्रोमा धेरै प्रतिस्पर्धा छ । घटेको मूल्यमा दिइएन भने त हाम्रो व्यापार नै चौपट हुन्छ ।”

नेपाल खाद्य किराना तथा थोक व्यापार सङ्घका अनुसार पछिल्लो केही दिनयता खाने तेल प्रतिलटरमा मूल्य ३० रुपियाँदेखि ४० रुपियाँसम्म घटेको छ । पछिल्लो पटक भटमास तेल प्रतिलिटरमा ४० रुपियाँ र सनफ्लावर तेल प्रतिलिटर ३० रुपियाँ सस्तिएको सङ्घले जनाएको छ । सङ्घका अनुसार नयाँ घटेको मूल्य भर्खर मात्रै थोकसम्म आउन थालेको र छिट्टै बजारमा जाने र घटेको मूल्यमा उपभोक्ता उपभोग गर्न पाउनेछन् ।

गोरखापत्रबाट