झापा – कर्तव्य ज्यान मुद्दामा पक्राउ परी प्रहरी हिरासतमा रहेका बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईंका ९ जना समर्थक मंगलबार जेल चलान भएका छन्। उनीहरुलाई पुर्पक्षका लागि जेल चलान गरिएको हो। बयानका लागि झापा जिल्ला अदालत उपस्थित गराइएका उनीहरुलाई अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए।
ज्यान मुद्दामा कारागार चलान हुनेहरुमा हल्दिबारी –१ स्थायी ठेगाना भई हाल बिर्तामोड ५ बस्ने राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानको भ्रातृ संगठन पीडीएफका झापा संयोजक ४० वर्षीय भिम तुम्बापो लिम्बू, पीडीएफका सहसचिव बिर्तामोड– ७ बस्ने ३३ वर्षीय सुरेश चौधरी, पीडीएफका सदस्यहरु हल्दिबारी १ बस्ने २४ वर्षीय विवश लिम्बू, बुद्धशान्ति –४ बस्ने बलिहाङ माबो लिम्बू, पीडीएफका मेचीनगर इन्चार्ज मेचीनगर– ६ बस्ने ३४ वर्षीय राजेश महत, पीडीएफका कोषाध्यक्ष अर्जुनधारा–९ बस्ने ३८ वर्षीय रुद्र भुजेल, पीडीएफका सल्लाहकार हल्दिबारी– १ बस्ने ५१ वर्षीय विरबहादुर गुरुङ, पीडीएफका सदस्य बिर्तामोड– ३ बस्ने ३५ वर्षीय उदय लिम्बू र पीडीएफकै सदस्य बाह्रदशी–६ बस्ने अन्दाजी २४ वर्षीय खगेन्द्र राजवंशी रहेका छन्। फरार रहेका राजवंशीलाई प्रहरीले पछि पक्राउ गरेको थियो।
उनीहरुले आगजनी गरेको भारतीय ट्रकका चालकको मृत्यु भएपछि कर्तव्य ज्यानमा कारबाही अगाडि बढाएको थियो। झापा जिल्ला अदालतबाट आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा म्याद थप लिई अनुसन्धान भइरहेकोमा भारतमा उपचारार्थ ट्रक चालक पोदो रायको गत असोज १९ गते मृत्यु भएपछि कर्तव्य ज्यानमा समेत थप कारबाही अगाडि बढाइएको थियो।