प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बलेरो जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, चार जनाको अवस्था अझै गम्भीर

२०८० जेठ २२, सोमबार ०२:३६ बजे

काठमाडौं – पाल्पाको रैनादेवी छहरा–८, सत्यवतीस्थित केवरेडाँडामा बलेरो जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा अर्घाखाँची जिल्ला पाणिनी–१, की ५५ वर्षीया श्यामकला परियार, सोही स्थानका २६ वर्षीय चालक रमेश विक, पाणिनी–२ पोखराथोककी २५ वर्षीया सिता गौतम र पाणिनी–२, का २ वर्षीय बालक संयोग गौतमक रहेका छन् । संयोगको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

दुर्घटनामा परी अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका–४, धरम पानी बस्ने ७ वर्षका समीर पाण्डेय, सोही स्थानका १० वर्षका अनुप सोमरे, पाल्पा जिल्ला तिनाउ गाउँपालिका–३, दोभान बस्ने ५ वर्षकी आर्या भण्डारी र सोही स्थानकी ३४ वर्षकी लक्ष्मी पोखरेल गम्भीर घाइते भएका छन् । उनीहरुको उपचार भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै अर्घाखाँची जिल्ला पाणिनी–१, का ६६ वर्षका रामबहादुर विक, सोही स्थानका ६ वर्षका संयोग गौतम, सोही स्थानकी ५ वर्षकी पर्विष्टी पोखरेल, सोही स्थानका १० वर्षका सोलिन परियार र रुरु गाउँपालिका बलेटक्सारका ९ वर्षका सार्थक ज्ञवाली घाइते भएका छन् । उनीहरू सबैको उपचार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

यस्तै अन्य घाइतेहरूमा पाणिनी–१, अर्घाखाँचीका ४४ वर्षका विजय पोखरेल, सोही स्थानका ४० वर्षका हरि गौतम रहेका छन् । उनीहरू दुई जनाको उपचार बुटवल चौराहा अस्पतालमा भइरहेको छ ।

आइतबार बेलुकी रुपन्देहीको सालझण्डीदेखि अर्घाखाँचीतर्फ गइरहेको लु १ च ९०२४ नम्बरको जिप साढे ५ बजेतिर दुर्घटनामा परेको थियो । क्षमताभन्दा बढी यात्रु भएको कारण जिप दुर्घटना भएको प्रहरीको अनुमान छ । जिप सडकदेखि करिब ८० मीटर तल सडकमा खसेको थियो ।