हेटौंडा – पार्टी फुटका कारण नेकपा एमाले र एकिकृत समाजवादी(एस)बीच पानी बाराबार नै छ । अनुमान लागाउनुस् त ? चुनावको मुखमा एमालेका नेता तथा कार्यकता एसमा, एसका नेता तथा कार्यकर्ता एमाले प्रवेश गरे ! यी दुई पार्टीका नेता कार्यकता कति खुशी होलान् ? खुशीको सिमानै पार गरेर साइबर सेनाहरुले सामाजिक सञ्जालमा झ्याली पिट्छन् ।
तर, मकवानपुरमा ठिक विपरित भएको छ । कुरा हो, काम भन्दा बढी विवादै बिवादले चर्चा कमाएको पालिका मनहरी गाउँपालिकाको । विं.सं.२०७४ को स्थानीय चुनावमा एमालेका एकराज उप्रेतीले अध्यक्ष र मनिला विष्टले उपाध्यक्षमा जिते ।
पाँच बर्षको अवधिमा त्यहाँ गरिएको काम भन्दा बढी अध्यक्ष र उपाध्यक्षको विवादले चर्चा पाएको थियो । केन्द्रिय राजनीतिको प्रभावमा परी विष्टले गाउँपालिकाभित्र बबन्डर नै मच्चाएकी थिइन् ।
त्यसपछि उनले २०७७ मंसिर २९ गते उपाध्यक्ष पदबाट राजिनामा समेत दिएकी थिइन् । तर, अध्यक्ष उप्रेतीले राजिनामा स्वीकृत गर्न पार्टीको निर्णय कुरे । उल्टै उपाध्यक्षले राजिनामा नदिएको बचाउँ गर्दै पुष १ गते कार्यापालिकाबाट निर्णय समेत गर्न भ्याए । केन्द्रमा नेकपा विभाजनको चरमउत्कर्षमा पुग्दै थियो । यता उप्रेतीले पौष १७ गते राजिनामा स्वीकृत गरेको समाचार बाहिरियो ।
त्यसपछि शुरु भएको थियो, अध्यक्ष उप्रेती र उपाध्यक्ष विष्टको राजनीतिक प्रतिसोधको दोहोरी । उप्रेती र विष्टको पत्रकार भेटघाटको प्रतिस्पिर्धा नै भयो । पक्षविपक्षमा समाचारको बढी नै आयो ।
पत्रकार सम्मेलन गरि रुदै अदालत जाने भन्न भ्याइन् । त्यती मात्रै होइन्, गाउँपालिकामा गएर आफ्नै कार्यकक्ष फोडिन्, उप्रेतीमाथि आरोपको कुन्यू लगाइन्, आफ्नो ज्यान खतरामा छ समेत भन्न भ्याइन् । उता अध्यक्ष उप्रेतीले पनि पत्रकार सम्मेलन गरि विष्टमाथि आरोपको भेलबाढी नै ल्याए ।
त्यसपछि उपाध्यक्ष विष्टले आफूले राजिनामा नदिएको दावि गर्दै उच्च अदालत पाटन हेटौंडा इजलाशमा उजुरी दिइन् । गत फागुन ५ गते अदालतले विष्टकै पक्षमा फैसला गर्यो । गत बैशाखमा बिष्टको कार्यकाल सकियो । त्यति बेलासम्म सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र जन्माइसकेको थियो ।
एमाले पनि दुई भागमा विभाजित भएको थियो । माधव नेपाल पक्षधरका उनी गत बैशाखमा भएको स्थानीय चुनावमा नेकपा एसबाट उपध्यक्षमा उम्मेदवारी दिइन् । के कुन्नीले आफ्नो घर पनि बनाउँदैन, अर्काको घर पनि बन्न दिदैन भन्थ्यो । त्यस्तै आफु पनि चुनाव हारिन् एमालेका उम्मेदवारलाई हराउन ठुलो भुमिका खेलिन् ।
“न रह्यो बाँस, न बज्यो बाँसुरी” भने जस्तै मनहरी गाउँपालिकामा एमालेको अवस्था छ । २०७४ को स्थानीय चुनावमा मनहरीको पालिका अध्यक्ष/उपाध्यक्ष सहित ४ वडाध्यक्ष जितेको ०७९ मा केही वडासदस्यमा मात्रै खुम्चिएको छ । तर, मनिला विष्ट भने फेरि एमालेमै फर्किएकी छिन् । उनलाई सोमबार नेकपा एमालेका केन्द्रिय सल्लाहाकार समितिका सदस्य तथा पुर्वमुख्यमन्त्री डोरमणी पौडेलले पार्टीमा स्वागत गरेका हुन् ।
नेकपा एकिकृत समाजवादी मकवानपुरकी सचिवालय सदस्य समेत रहेकी विष्ट एमालेमा प्रवेश गरेसंगै एमालेकै नेता तथा कार्यकर्ताले असन्तुष्टी ब्यक्त मात्र गरेनन् । एमाले मकवानपुरका जिल्ला सदस्य शुभराज थिङसहित ६५ जनाले पार्टी परित्याग गरेका छन् ।
हालैसम्पन्न स्थानीय एमालेका उम्मेदवारहरुलाई हराउन लागेकालाई पार्टी प्रवेश गराउनु चित्त बुझ्दो नभएको मनहरी एमालेका एक नेताले बताए । ‘कसैले हिलोमा दलिएको पैसा टिप्दा खल्तीको पैसा खस्न सक्छ, भन्ने पार्टीको माथिल्लो कमिटीले बिचार पुर्याउनु पथ्यो,’ उनले भने,‘अब पार्टीलाई ठुलो क्षति र हानी पुग्ने प्रष्ट भइसक्यो।’
त्यती मात्रै होइन्, विष्ट एमाले प्रवेशलाई लिएर सामाजिक सञ्जालमा समेत चौतर्फी विरोध भएको छ । युव संघ मकवानपुरका अध्यक्ष लक्ष्मण उप्रेतीले विष्टलाई एमालेमा स्वागत गरेको फेसबुकमा पोष्टमा एकराज उप्रेतीका छोरा लेख्छन्, ‘एकराज त हार्यो, अब पुस्कर हराउन लाग्छु र हारेपछि पुस्कर हराको नै मैले हो भनेर छाती पिट्नृलाई जिल्लामा बसेर राजनीति गर्ने टाउकेहरुले स्वागत गरे हुन्छ ! अब हुने बिद्रोहलाई छेकेर देखाउन चुनौती ।’
त्यस्तै एमाले मकवानपुरका पुराना नेता आर.आर. चौलागाईं विष्टले मनहरीमा क्षेत्रमा कम्युनिष्ट अभियानलाई सिध्याउन ठुलो भुमिका खेलेको आरोप लाएको सामाजिक सञ्जालमा लेख्छन् । ‘नेकपा फुटेपछि यिनी नेकपा एसतिर लागिन् । त्यसबाट यिनको केही फलिफाप लागेन अनि अहिले एमालेमा फर्केकी छिन,’ उनले लेखेका छन्,‘अब यिनी एमालेलाई सिध्याउन पनि अहोरात्र खट्छिन् ।’
‘यिनी एमालेमा फर्केपछि एमाले मकवानपुरका अगुवाहरू दङ्ग परेका छन् । म जस्तो एमाले शुभचिन्तकले यति लेख्नुबाहेक अरू के गर्न सक्छु र ! भीरबाट लड्ने गोरुलाई राम राम भन्न सकिन्छ तर काँध थाप्न सकिन्न भन्ने उखान अहिले मकवानपुरको एमालेमा लागु भएको छ ।’ उनले आफ्नो फेसबुकमा लेखेका छन् ।
यता एमालेका नेता तथा कार्यकर्ताहरु विष्ट एमाले प्रवेश गरेप्रति असन्तुटी ब्यक्त गरेको समाचारमा अटाउँदैन । उता नेकपा एस मकवानपुरका नेताहरु भने खुःशी ब्यक्त गरिरहेका छन् । एस मकवानपुरका नेता तथा कैलाश गाउँपालिकाका उम्मेदवार टंक मोक्तान लेख्छन्,‘को–को खुसी छन् कुन्नि ? हामी त यसै खुसी छौ, एउटा दम्भीको अवसानले ।’
यसो भन्छन् एकराज उप्रेती ?
एमाले मकवानपुरका नेता एकराज उप्रेतीले विष्टको पार्टी प्रवेशलाई लिएर विभिन्न टिक्का टिप्पणी गर्नु आवश्यक नरहेको बताए । ‘सामान्य मान्छेहरुले सामाजिक सञ्जालमा टिक्का टिप्पणी गरे होला, मान्छे सुध्रिन पाइन्छ, अहिले सामाजिक सञ्जालमा विभिन्न कुरा लेख्छन्, खासै कुरा केही छैन,’उप्रेतीले भने ।
गाउँ कमिटी अध्यक्ष सुवेदीलाई आएको थाहा छ, छोडेको छैन
एमाले मनहरी गाउँ कमिटिका अध्यक्ष नविन सुवेदीले मनिला विष्ट एमाले प्रवेश भएको थाहा छ, एमालेका कार्यकर्ताले पार्टी परित्याग गरेको बारेमा आफुलाई जानकारी नभएको बताए । ‘म अहिले आफ्नो पसलमा छु, त्यो बारेमा महिले बुझ्नुपर्छ,’ उनले भने,‘पार्टी प्रवेशको विषयमा गुनासा होलान्, त्यो पार्टीले छलफल गरेर समाधन गर्छ ।’