प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

अमेरिकामा नेपाली पन र नेपाली पहिचान झल्काउने 'नेपाल उत्सव-२०७९' सम्पन्न

२०७९ असार १३, सोमबार ०८:४८ बजे

अमेरिकाको मासाचुसेट्स् राज्य अन्तर्गत समरभिल सहरमा, नेपाली पन र नेपाली पहिचान झल्काउने 'नेपाल उत्सव -२०७९' सफलतापूर्वक सम्पन्न भएको छ। 'नेपालको साँस्कृतिक विविधतामा एकता' भन्ने मुल नाराका साथ आयोजित कार्यक्रम, जुन २५ तारिख शनिवारका दिन विविध क्रियाकलापहरु गरी सम्पन्न गरिएको हो।

'जहाँ नेपाली तन, त्यहाँ नेपाली पन'
भन्ने मुल मर्मलाई आत्मसात् गर्दै अमेरिकामा रहेका नेपाली भाषीहरुद्वारा आयोजित बृहत् कार्यक्रमले मुलत: एकता, पहिचान र समर्पणलाई उजागर गर्ने प्रयास गरिएको थियो।

उत्सवमा तन अमेरिकामा भएपनि, मन भित्र नेपाल र नेपालीको माया सङ्गालेका आप्रवासी नेपालीहरुको उत्साहजनक सहभागिता रहेको थियो।

नेपाल कक्षा, बोस्टन (NCB)मा आबध्द बालाबालिकाहरुले नेपाली राष्ट्रिय गान 'सयौं थुङ्गा फूलका हामी, एउटै माला नेपाली ...' गाएर शुभारम्भ गरिएको नेपाल उत्सव-२०८९ मा, कलाकारहरुले नेपाल र नेपाली पन झल्काउने आ-आफ्ना कलाहरु प्रस्तुत गरेका थिए।

ग्रेटर बोस्टन नेपाली समाज, समरभिल कला परिषद र समरभिभा: आप्रवासी मामिलाको कार्यालयको संयुक्त आयोजनामा सम्पन्न भएको उक्त उत्सवले, मासाचुसेट्सवासी नेपाली भाषीहरुलाई संगठित गर्ने, नेपाली कला, भाषा, धर्म, संस्कृति, रितिरिवाज, परम्परा , पहिरन, खानपिन आदिको संरक्षण, सम्बर्धन तथा प्रवर्धन गर्ने र समग्र नेपाल र नेपालीलाई विश्व सामु चिरपरिचित गराउन सक्दो योगदान पुर्याउने मुख्य लक्ष्य राखेको थियो ।

कार्यक्रममा समरभिल सिटीका मेयर काट्जाना बाल्लानटाइन (Katjana Ballantyne)प्रमुख आतिथ्यता रहेको थियो। नेपाल र नेपालीको पहिचानलाई केन्द्रमा राखेर आयोजना गरिएको कार्यक्रमलाई प्राथमिकता दिदै प्रमुख आतिथ्यता ग्रहण गर्नु भएका बालानटाइनले, सामाजिक क्रियाकलापहरुमा नेपाली समुदायले देखाउदै आएका सकारात्मक सामाजिक क्रियाशीलताको प्रशंसा गर्दै, कार्यक्रमको सफलताको कामना गर्नु गरेको थियो। कार्यक्रममा उहाँले आगामी दिनमा पनि समरभिल सिटीले नेपाली समुदायसंग मिलेर काम गर्ने र आवश्यक पर्दा सक्दो सहयोग गर्ने आश्वासन दिनु भयो।

समग्रमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको कुरा आयोजकले जनाएको छ। कार्यक्रमका बारेमा प्रतिक्रिया दिदै आयोजक संस्था ग्रेटर बोस्टन नेपाली समाजका उपाध्यक्ष तथा समरभिभा: आप्रवासी मामिलाको कार्यालयका नेपाली सेवा संयोजक परशुराम फुयालले, कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताउनु भयो। कार्यक्रम सफल भएकोप्रति खुशी व्यक्त गर्दै फुयालले भन्नु भयो,’ सबैको अथक प्रयासमा लक्ष्य अनुसार कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। हामी सारै खुशी छौं। कार्यक्रम सम्पन्न गर्न प्रतक्ष्य अप्रतक्ष्य रुपमा सहयोग गर्नु हुने सबैलाई आयोजकहरुको तर्फबाट धन्यवाद !' मासाचुसेट्स् राज्यमा बसोबास गर्ने आप्रवासी नेपाली तथा नेपाली भाषीहरुको संख्या निकै रहेको जिकिर गर्दै उहाँले भावी दिनहरुमा अन्य शहरहरुमा पनि नेपाल र नेपाली पहिचानमा केन्द्रिकृत भएर विविध कार्यक्रमहरु गर्नु पर्नेमा जोड दिनु भयो। कार्यक्रमको सफलताले उत्साहित हुनु भएका फुयालले, आगामी दिनमा पनि आयोजना हुने विविध कार्यक्रमहरुमा यस्तै साथ सहयोगका लागि सबैलाई अनुरोध समेत गर्नु भयो।

सन् २०१२ बाट मनाउन थालिएको नेपाल उत्सव, सन् २०१७ र सन् २०१९ पनि मनाइएको थियो। सन् २०१९ पछि भने विश्वव्यापि कोरोना कहरका कारण बृहत् रुपमा आयोजना गर्न सकिएको थिएन। कोरोना कहरपछि आयोजना गरिएको यस चौथो बृहत् 'नेपाल उत्सव' मा, विभिन्न नेपाली वेशभूषामा सजिएर आएका सहभागीहरुको उत्साहजनक सहभागिताले,
नेपाल र नेपालीको मुख्य पहिचानको विशेषता 'विविधताका बिच एकता' झल्काउन सफल भएको आयोजकले दावी गरेको छ।

कार्यक्रममा कलाकारहरुले नेपाल र नेपाली संझाउने र नेपाली पन तथा पहिचान झल्काउने मनोरञ्जनात्मक विविध साँस्कृतिक कलाहरु(वाद्यवादन, गायन तथा नृत्य) प्रस्तुत गरेका थिए। साथै, नेपाली स्वाद दिलाउने विभिन्न खानाका परिकारहरुका ३ वटा, नेपाली पहिचान बोकेका सामानहरुका १२ वटा र संस्थागत ३ वटा गरी कुल १५ वटा स्टलहरु रहेका थिए ।

करिब १५ देखि २० हजारसम्म नेपाली भाषीहरुको बसोबास रहेको अनुमान गरिएको अमेरिकाको यस मासाचुसेट्स राज्यमा, नेपाली भाषीहरुका विभिन्न संघ संस्थाहरुले, लामो समयदेखि नेपाल र नेपाली भाषीहरुको पहिचान तथा उथ्थानका लागि संगठित भएर विविध सामाजिक क्रियाकलापहरु गर्दै आइरहेका छन्।