प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

पाँच पटकको विजेताविरुद्ध खेल्दै नेपाल

२०८१ कार्तिक ११, आईतबार ०८:०५ बजे

काठमाडौं – साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने दाउका साथ आज नेपालले पाँच पटकको विजेता भारतविरुद्ध खेल्दैछ। यो खेल आज राति साढे ६ बजे दशरथ रंगशालामा हुनेछ।

घरेलु टिम नेपाल र भारत लगातार दोस्रो पटक सेमिफाइनलमा भिड्न लागेका हुन्। पछिल्ला संस्करणमा नेपालले भारतलाई हराएर साफ महिला च्याम्पियनसिपको फाइनल खेलेको थियो। जुन भारतविरुद्ध नेपालको पहिलो जित थियो। त्यसपछि नेपालले भारतविरुद्ध लगातार सानदार प्रदर्शन गर्दै आएको छ।

पछिल्ला तीन खेलमा भारतसँग नेपाल हारेको छैन। समग्रमा भने नेपालमाथि भारत हाबी छ। यी दुईबिच भएका कुल १७ भिडन्तमा भारतले ११ र नेपालले दुई खेलमा जित हात पारेका छन् । साफमै पनि चार पटक फाइनल र एक पटक सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ।

तर विगतमा दक्षिण एसियाली महिला फुटबलमा एकछत्र राज गरेको भारतको चमक अहिले कम भइसकेको छ । यस प्रतियोगिताको समूह चरणमा पनि बङ्गलादेशसँग ३–१ ले हारेर भारतले समूह ‘ए’ उपविजेतामा चित्त बुझाएको थियो। जसको फाइदा नेपाललाई सेमिफाइनलमा हुन सक्छ। नेपाल हजारौँ घरेलु दर्शकको ऊर्जा र मैदानको फाइदामा खेल्दै छ। पछिल्ला दुई खेलमा १७ गोल गरेपछि नेपाली स्ट्राइकरहरू अहिले उच्च मनोबलमा छन्।

पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको नेपाल बाँकीका दुई खेलमा तुलनात्मक रूपमा कमजोर मानिएका माल्दिभ्सलाई ११–० र श्रीलङ्कालाई ६–० ले हराएर समूह ‘बी’ विजेता बनेको हो। त्यसैले यस प्रतियोगितामा नेपालको वास्तविक परीक्षा भारतविरुद्ध नै हुने छ।

नेपालका प्रशिक्षक राजेन्द्र तामाङले श्रीलङ्कालाई हराएपछि पोस्ट म्याच कन्फरेन्समा भारतलाई हराउन सम्पूर्ण शक्ति लगाएर आफ्ना खेलाडीले प्रदर्शन गर्ने बताए।

’हाम्रो ध्यान अहिले भारतलाई हराउनेमा नै केन्द्रित छ । साफ च्याम्पियन बन्ने सपना पूरा गर्न अहिले तगारोका रूपमा रहेको भारतलाई जसरी पनि जित्नु पर्छ भन्ने लक्ष्यसहित खेल्ने छौँ’ उनले भने।

आजै पहिलो सेमिफाइनलमा गत विजेता बङ्गलादेश र भुटानबिच पनि प्रतिस्पर्धा हुने छ। यो खेल दिउँसो साढे एक बजे दशरथ रंगशालामै सुरु हुनेछ।