प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सर्लाहीमा गोली लागेर एक जनाको मृत्यु, स्थानीय प्रशासनद्वारा कार्फ्यू आदेश

२०८० पौष २०, शुक्रबार १७:५५ बजे

काठमाडौं – सर्लाहीको बरहथवामा झडप हुँदा गोली लागेरएक जनाको मृत्यु भएको छ । बरहथवा नगरपालिका–६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएको हो ।

स्थानीय स्वास्थ्य केन्द्रको स्तरोन्नतिका विषयमा भएको विवादका क्रममा सुरक्षाकर्मीसँगको झडपमा प्रहरीले चलाएको गोली लागेर साहको मृत्यु भएको हो । स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेस, जनमत, जसपासहितका दलले गरेको प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रहरीले गोली चलाएको जनाएको छ ।

स्थानीय स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तोरोन्नति गर्नेबारे दुई पक्षबीच मतभिन्नता देखिएको थियो। एक पक्षले नगरपालिकाले नै स्तरोन्नति गर्नुपर्ने र अनि अर्को पक्षले प्रदेशले स्तरोन्नति गर्ने भन्ने थियो । अस्पताललाई प्रदेशमातहत लानेबारे स्थानीय तहले आफैँ स्तरोन्नति गरेर चलाउने भनेपछि विवाद भएको बताईएको छ ।

आन्दोलनकारीबाट नगरपालिका कार्यालय तथा नगरप्रमुख कल्पनाकुमारी कटुवालको निजी घरमा ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो । घटनाबारे प्रारम्भिक जानकारी मात्र भएकाले थप जानकारी आउँन बाँकी रहेको छ । बरहथवा बजार क्षेत्रमा अहिले व्यापक मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

सो घटनापछि स्थानीय प्रशासनले कार्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले एक सूचना जारी गर्दै कर्फ्यू लगाएको बताएका छन् । उनका अनुसार बेलुका ५:३० बजेदेखि भोलि बिहान ८ बजेसम्‍म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम कर्फ्यू आदेश जारी गरिएको हो ।

कर्फ्यू लागेसँगै बरहथवा नगरक्षेत्र (उत्तर सोतीरचोर्निया पुल, पश्चिम हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र पूर्वमा सीतापुर जाने बाटो ब्रह्मस्थान) सिमा क्षेत्र भित्र कसैले आजवतजावत गर्न , भेला हुन र बाहिर हिलडुल गर्न पाउने छैनन् ।