काठमाडौं – जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा खराब प्रर्दशन गर्दै आएको विभागीय टोली नेपाल पुलिस क्लब लयमा फर्किएको छ । पुलिसले विदेशी दुई खेलाडी भित्र्याएसंगै लयमा फर्किएको हो ।
सातौँ खेलमा विदेशी खेलाडी मोसेस सहित मैदानमा उत्रिएको पुलिसले ए डिभिजन लिगमा पहिलो जित निकालेको छ । पुलिसले एन्फा मैदान सातदोबाटोमा सोमबार भएको खेलमा फ्रेन्ड्स क्लबमाथि ३–१ गोलको जित निकालेको हो ।
पुलिसको जितमा बुद्ध बल तामाङले दुई गोल गरे। अर्को गोल विदेशी खेलाडी मोसेसले थपे । फ्रेन्ड्सका टोरिक जेब्रिनले सान्त्वना गोल फर्काए ।
खेलको ५१ औं मिनेटमा मोजेजले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए । ५८ औं मिनेटमा बुद्धले गोल गर्दै पुलिसलाई २-० को अग्रता दिलाए । खेलको ८७ औं मिनेटमा टोरिकले गोल गर्दै फ्रेन्ड्सलाई २-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ९० औं मिनेटमा बुद्धले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई ३-१ को जित दिलाए । पुलिसले सातौं चरणमा आएर पहिलो जित निकालेको हो ।
अघिल्ला संस्करणमा उपाधि दाबेदार पुलिसले यसपटक रेलिगेसन टार्न हम्मेहम्मे पर्ने देखिएको छ । जितसँगै पुलिसले सात खेलबाट चार अङ्क बनाएको छ । पराजित फ्रेन्ड्सको पनि समान चार नै अङ्क छ । दुवै टोलीले रेलिगेसन रेखा छल्न सकेका छैनन् ।
यसैगरी दशरथ रङ्गशालामा भएको अर्को खेलमा चर्च ब्वाइज युनाइटेड र एपीएफ क्लबले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् । प्रतिस्पधर्कात्मक खेलमा दुवै टोलीले गोल गर्ने राम्रा मौका गुमाएका थिए ।
यस बराबरीले उपाधि दौडमा रहेको नवप्रवेशी चर्च ब्वाइजलाई केही धक्का लागेको छ ।यस बराबरीसँगै चर्च ब्वाइजले ७ खेलमा १३ अंक जोडेको छ । एपीएफले ७ खेलमा ११ अंक जोडेको छ ।