हेटौंडा – झारफुक गर्ने बहानामा तातो पन्यूले डाम्ने, तातो तेल र पानी खन्याएर घाइते बनाउने कार्यमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले घटनामा संलग्न रहेका पाँच जना व्यक्तिलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा अर्घाखाँची घर भई तारकेश्वर नगरपालिका बस्ने १९ वर्षीया सचिना सारु मगर (झारफुक गर्ने माता), उदयपुर घर भई तारकेश्र नगरपालिका बस्ने २६ वर्षीय पदम बहादुर मगर, सोही स्थान बस्ने २६ वर्षीय संगम राई, १८ वर्षीय सागर मगर र चितवन घर भएका १८ वर्षीय अजित तामाङ्ग रहेका छन् ।
उनीहरुले भोजपुर घर भई हाल तारकेश्वर नगरपालिका–११ मनमैजु बस्ने ३६ बर्षीया महिलालाई काप्ने, बर्बराउँने, छटपटाउने समस्या ठिक गरिदिने भन्दै तातो पन्यूले डाम्ने, शरीरमा तातो तेल र तातो पानी खन्याएर घाइते बनाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार पीडितको शरीरमा छाला खुइलिएर पाक्ने तथा अनुहारको भाग समेत कुरुप भएको छ। पीडित महिलाको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
पक्राउमा परेका ५ जना उपर मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद(१४ को कुटपिट वा अंगभंग सम्बन्धी कसूर मुद्दामा काठमाण्डौ जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।