एजेन्सी – कतारमा कार्यरत एक नेपाली युवाले ८२ करोड रूपैयाँको चिठ्ठा जितेका छन् । अबुधाबीमा आयोजित बिग टिकट र्याफल ड्रको सिरिज २४८ मा नेपाली युवा रञ्जित कुमार पालले २ करोड ३० लाख दिराम अर्थात झन्डै ८२ करोड नेपाली रुपैयाँ जितेका हुन्।
शुक्रबार राति चिठ्ठाको नतिजा सार्वजनिक गरिएको हो । उनले २३२९३६ नम्बरको टिकट जनवरी १६ मा खरिद गरेका थिए।
रञ्जित विगत सात वर्षदेखि कतारको राजधानी दोहामा मनी एक्सचेन्ज कम्पनीमा कार्यरत रहेका छन् । दुई छोरा बाबु उनी पुरस्कार जितेपछि निक्कै खुशी छन् । पाँच र दश वर्ष उमेरका उनका दुई छोरा छन् ।
उनले उक्त रकम नेपालमा रहेको आफ्नो परिवारका लागि खर्च गर्ने बताएका छन् । उनले पछिल्लो १५ महिनादेखि २० जना साथीहरुसँग मिलेर बिग टिकट खरिद गर्दै आएका थिए । उनले यसलाई जारी राख्ने समेत बताएका छन् ।
रोजगारीको शिलशिलामा युएई, कतार पुगेका नेपालीहरुले बेलाबेला यस किसिमको चिठ्ठा कार्यक्रममार्फत पुरस्कार जित्दै आएका छन् ।
२०७० सालमा नेपाली नागरिक डिल्लीराम पराजुलीले कतार ड्युटी फ्रिको डलर मिलिएनार चिठ्ठा अन्तर्गत नेपाली रुपैयाँ करिब ८ करोड ७० लाख जितेका थिए ।