हेटौंडा – हेटौंडामा जारी दोस्रो बागमती प्रदेश लिग फुटबल प्रतियोगितामा शुक्रबार चितवन र मकवानपुर विजयी भएका छन् । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको पहिलो खेलमा चितवनको हनामी भरतपुर फुटबल क्लबले काभ्रेको माउन्ट एभरेष्ट क्लबलाई २–१ गोल अन्तरले पराजित गर्यो।
चितवनका लागि अमन चौधरी र सदिप केसीले गोल गरेका थिए, भने माउन्ट एभरेष्टका बिशेष लामाले एक मात्र गोल फर्काए। खेलको उत्कृष्ट प्रदर्शनका आधारमा म्यान अफ द म्याच काभ्रेका बिशेष लामा घोषित भए। उनले नगद ३ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे।
दोस्रो खेलमा मकवानपुरको पदमपोखरी युथ क्लबले धादिङको धुनिबेशी युथ समाजलाई २–१ गोल अन्तरले हरायो। मकवानपुरका लागि प्रितम स्याङबो र महेश वाईबाले गोल गरे भने धुनिबेशीका लागि श्रीकृष्ण रेग्मीले एक गोल गरेका थिए। खेलको म्यान अफ द म्याच मकवानपुरका सुजन खत्री घोषित भए। उनले पनि नगद ३ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे।
शनिबार प्रतियोगिता अन्तर्गत १२ः३० बजे नुवाकोटको बट्टार युथ क्लब र दोलखाको टाईगर टिमबीच प्रतिस्पर्धा हुनेछ। ३ बजे हुने दोस्रो खेलमा भक्तपुरको थिमी युथ क्लब र सिन्धुपाल्चोकको चौतारा स्पोर्टिङ क्लब भिड्नेछन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) को संयोजन र बागमती प्रदेश फुटबल संघको आयोजनामा जारी प्रतियोगितामा विजेताले उपाधिसहित नगद २ लाख प्राप्त गर्नेछ भने उपविजेताले १ लाख रुपैयाँ हात पार्नेछ। प्रतियोगिताले क्षेत्रीय फुटबलको प्रवर्द्धनमा उल्लेखनीय योगदान गरिरहेको छ।