काठमाडौँ – स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन दर्ता गराएकामध्ये ३१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगले बुधबार राति विज्ञप्ति जारी गरेर यसबारे जानकारी गराएको हो ।
जिल्ला समन्वय समति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्षका ४४ वटा रिक्त पदमा विभिन्न राजनीतिक दलबाट २८९ जना र १२१ जना स्वतन्त्र गरी ४१० जनाले उम्मेदवारी दिएका थिए ।
देशभरका स्थानीय तहमा रिक्त रहेका ४४ पदमध्ये ३ जना निर्विरोध निर्वाचित भइसकेका छन् ओखलढुंगा र कैलाली जिल्लाको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली काँग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी निर्विरोध निर्वाचित भएको निर्वाचन आयोग जनाएको छ ।
यस्तै रुकुमको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ ।
आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार ४१ पदका लागि ३७६ जना चुनावी मैदानमा कायम भएका छन् । स्थानीय तह उपनिर्वाचन प्रयोजनको लागि दर्ता भएका २५ वटा राजनीतिक दलमध्ये हाम्रो नेपाल पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी लेनिनवादी), नेपाली कांग्रेस (वि.पी.), नेपाली जनता दल र आम जनता पार्टी गरी ५ वटा राजनीतिक दलले कुनै पनि रिक्त पदका लागि उम्मेदवारी दर्ता नगराएको आयोगले जानकारी दिएको छ । यस अनुसार निर्विरोध निर्वाचन सम्पन्न भएका तीन स्थान बाहेक ४१ स्थानका विभिन्न पदहरूमा २० राजनीतिक दल र स्वतन्त्र उम्मेदवार समेत ३७६ जना उम्मेदवारलाई सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचित अधिकृतबाट निर्वाचन चिह्न प्रदान गरेको छ ।
निर्वाचन कार्यक्रम मङ्सिर ६ गतेदेखि १३ गते राति १२ बजेसम्म उम्मेदवारहरूले प्रचार प्रसार गर्न सक्ने आयोगले जनाएको छ । त्यस्तै आयोगले मङ्सिर १३ गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म निर्वाचन प्रचार प्रसार निषेध अवधि तोकेको छ ।