हेटौंडा। हेटौंडा अस्पतालको भवन निर्माणमा खटिएका एक मजदुर खसेर गम्भीर घाइते भएका छन्।
मंगलबार साँझ अस्पतालको नव निर्मित भवनमा काम गरिरहेका पर्सा घर भएका एक जना मजदुर अचानक खस्न पुग्दा गम्भीर घाइते भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् ।
नव निर्मित भवनमा रेलिङ जानको काम गरिरहेका पर्सा भवानिपुर गाउँपालिका वडा नम्बर ५ सकुवानिया घर भएका अन्दाजी २२ वर्षीय मुकेश महतो ३ तलबाट एक्कासी खस्न पुगेका थिए ।
४० फिट तल खसी घाइते भएका उनको हेटौंडा अस्पतालको आईसीयूमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको जनाइएको छ। घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।