प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

प्रहरीकै लुटियो हतियार

२०८० भाद्र २३, शनिबार ०७:५९ बजे

काठमाडौं – अज्ञात समूहले  ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गरेर हतियार लुटेका छन् । शुक्रबार राति जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बर्जु गाउँपालिका – १ शुक्रबारेमा सादा पोसाकमा खटिएका प्रहरीहरुको हतियार लुटपाट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सादा पोशाकमा खटिएका दुई जना प्रहरीबाट आक्रमणकारीले ठूलो चाइनिज पेस्तोल, एउटा म्यागजिन र सात राउण्ड गोली लुटेको प्रहरीले जानकारी दिएको छ। सुनसरीको सीमावर्ती क्षेत्रमा हतियार देखाएर लुटपाट गर्ने समूह सक्रिय रहेको सूचनाका आधारमा त्यस सम्बन्धित सूचना संकलन गर्न प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई प्रहरीले खटाएको थियो। उनीहरू इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएका थिए।

सादा पोसाकमा खटाइएका परियार र चौधरी पुग्नासाथ चार जनाको संख्यामा रहेको समूहले आक्रमण गरेर हतियार लुटेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए।

उनका अनुसार पछाडिबाट टाउकोमा चिर्पट प्रहार भएपछि केहीबेर दुई पक्षबीच घम्साघम्सीसमेत भएको थियो। तर, आक्रमणकारीको समूह ठूलो र प्रहरी दुई जना मात्रै भएकाले त्यो समूहसँग भिड्नसक्ने अवस्था नभएको एसपी रेग्मीले बताए। आक्रमणबाट प्रहरी जवान परियारको टाउकोमा चोट लागेको छ। अर्का प्रहरी पनि घाइते छन्। आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ।