प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

जनप्रतिनिधिले पक्ष–विपक्षमा प्रचारप्रसार गरे कारबाही गर्ने चेतावनी

२०७९ आश्विन २६, बुधबार १३:०१ बजे

हेटौंडा – स्थानीय तहका कार्यपालिकाका पदाधिकारीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरे कारवाही गरिने चेतावनी निर्वाचन आयोगले दिएको छ ।

उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको भन्ने जानकारीमा आएपछि बुधबार एक विज्ञप्तीमार्फत निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको पाइएमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम निजलाई कार्वाही गरिने जानकारी दिएको हो ।

निर्वाचन आचारसंहिता अनुसार कुनै पनि स्थानीय तहमा निर्वाचित कार्यपालिका सदस्यले आफू निर्वाचित भएको पालिकाभित्र कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नमिल्ने साथै, आफू निर्वाचित भएका स्थानीय तह बाहेकको स्थानमा कुनै उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न चाहेमा सरकारी साधन स्रोत (सवारी साधन, सुरक्षाकर्मी आदि)को प्रयोग नगरी आचारसंहिता प्रतिकुल नहुने गरी संलग्न हुन सकिने व्यवस्था छ ।

कतिपय स्थानीय तहका कार्यपालिकाका पदाधिकारी र सदस्यहरूले निर्वाचन आचारसंहिता विपरीत उम्मेदवारको पक्षमा प्रचारप्रसार कार्यमा संलग्न भएको उजुरी आयोगमा परेको थियो । अनुगमनबाट समेत देखिएपछि आयोगले तीन बुँदे निर्देशन समेत बिज्ञप्तीमै जारी गरेको छ ।

  •  स्थानीय तहको कार्यपालिकाका पदाधिकारी र सदस्यहरूले निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको पाइएमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम निजलाई कार्वाही गर्न स्पष्टीकरण सोधी तत्काल कारवाहीको प्रक्रिया अघि बढाउन जिल्ला आचारसंहिता अनुगमन समितिका अधिकृत (कोष तथा लेखा नियन्त्रक कार्यलयका प्रमुख)लाई निर्देशन दिने । साथै सोको सम्पूर्ण विवरण तत्काल जिल्ला आचारसंहिता अनुगमम समिति र आयोगमा पठाउने ।
  •  बुँदा नं. १ बमोजिमको कारवाही प्रक्रिया अघि बढाउन आवश्यकता अनुसार जिल्ला आचारसंहिता अनुगमन समिति तथा निर्वाचन कार्यलयले आवश्यक सहजीकरण र सहयोग गर्ने ।
  •  स्थानीय तहको कार्यपालिकाका पदाधिकारीले निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको पाइएमा निर्वाचन आयोग ऐन, २०७३ को दफा ७ बमोजिम आवश्यक सूचना तथा सहयोग उपलब्ध गराउन सम्बन्धित स्थानीय तहको कार्यालय तथा प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिने ।