प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरकी अप्सरा हत्यामा संलग्न विश्वकर्मा ६ वर्षपछि पक्राउ

२०८० पौष ५, बिहीबार १९:१२ बजे

हेटौंडा – मकवानपुर हाँडिखोला घर भएकी ५० वर्षीया अप्सरा भन्ने नारायणी तिमिल्सिनाको हत्या गरी फरार रहेका एक जना ६ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्घाखाँचीको शितगंगा नगरपालिका–१४ घर भएका जगत विश्वकर्मा रहेका छन् ।

जगतलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । जगत र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भएका ४६ वर्षीय शिवराम अधिकारीले गत २०७४ पुस ३० गते दिउँसो तिमिल्सिनाको हत्या गरेका थिए ।

घटनाका मुख्य योजनाकार समेत रहेका अधिकारी यसअघि नै नकबजनी चोरी मुद्धामा नाम परिबर्तन गरी अर्जुन अधिकारीको नाममा जेल सजाय भोगी रहेको खुल्न आएको थियो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले दुवैलाई बिहीबार सार्वजनिक गरेको हो ।

विश्वकर्माले शिवरामसँग काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित भुवनेश्वर मन्दिर पछाडि रहेको दह डाँडामा अप्सरा भन्ने तिमिल्सिनाको हत्या गरेका थिए । प्रहरीका अनुसार मृतक अप्सरा र शिवरामको पूर्वचिनजान रहेको थियो । शिवरामले भूपू आर्मीसँग बिहे गराइदिन्छु भन्दै १५–२० हजार रुपैयाँ र गरगहना लगाई राम्री भएर आउनुभन्दै फोन गरेर बोलाएका थिए ।

माछापोखरी एरियामा तीन जनाको भेट भएपछि २–३ घण्टा खानपिन गरी चक्रपथ चल्ने बसमा चढी उनीहरु बल्खु झरी ललितपुरको कुसुन्तीमा साँझको खाना खाई बल्खु क्षेत्रमा बसेका थिए ।अप्सरासँग २ घण्टाजति सँगै सुतेपछि शिवरामले जगत विकलाई मान्छे हेर भनी माथि डाँडामा राखेका थिए ।

त्यसपछि शिवरामले आएर ढुङ्गाले अप्सराको टाउकोमा हानेका थिए । जगतले पनि अप्सरालाई दुईपटक ढुङ्गाले हानेको प्रहरीको दाबी छ ।हत्यापछि अप्सराले लगाएको सुनका मुन्द्री र खल्तीमा भएको नगद ६–७ सय रुपैयाँ निकाली उनीहरू गाडी चढेर गोङ्गबुको नयाँ बासपार्कको कोपिला गेस्ट हाउसमा बसेका थिए । त्यहाँबाट उनीहरू फरार रहेका थिए ।

यस विषयमा पीडितको जाहेरी लिएर थप अनुसन्धानको लागि प्रहरी वृत्त कालिमाटीमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।