प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

२०७८ चैत्र २५, शुक्रबार १३:३० बजे

हेटौंडा – छुट्टाछुट्टै स्थान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । कैलालीमा दुई र तनहुँमा एक गरी तीन जनाको मृत्यु भएको हो ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको चौकीडाँडा सडकखण्डमा गएराति से ४ प ४७३० नंको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका कञ्चनपुर कृष्णपुर नगरपालिका–५ का ३० वर्षीय लोकेन्द्र पार्की र सुदूरपश्चिम प्रदेश०२–००४प १११ नंको मोटरसाइकल चालक कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिकाका ३२ वर्षीय पुरनकुमार मडैको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले बताए ।

दुई मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनाबाट मोटरसाइकलको पछाडि सवार रहेका कृष्णपुर नगरपालिकाका दीपक भट्ट र शुक्लाफाँटा नगरपालिकाका महेश पार्की पनि घाइते भएका छन् । सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको उनीहरुको अवस्था समान्य छ ।

त्यस्तै तनहुँको व्यास नगरपालिका १२ देउरालिमा मोटरसाइकलको ठक्करबाट देउराली बस्ने ६२ बर्षीय नन्द गोपाल कार्कीको मृत्यु भएको छ । उनको उपचारको क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको हो । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको लु ७० प १७१९ नम्बरको मोटरसाइकलले आज बिहान सवा १० बजे कार्कीलाई ठक्कर दिएको हो । मोटरसाइकल सहित चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।