काठमाडौं – एसीसी मेन्स प्रिमियर कपको फाइनलमा आज सोमबार नेपाल र युएई खेल्दै छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा नेपाल र यूएईबीच बिहान ९ बजेबाट खेल सुरु हुनेछ ।
नेपाल युएईलाई पराजित गरेर नेपाल पहिलो पटक एसिया कप खेल्ने लक्ष्यमा रहेको छ । उता, यूएई नेपाललाई घरेलु मैदानमा हराएर चौथोपटक एसिया कपमा स्थान बनाउने योजनामा छ ।
सेमिफाइनलमा कुवेतसँगको खेल भारी वर्षाको कारण खेल रद्द भएपछि नेपाल समूह चरणमा गरेको प्रदर्शनको आधारमा फाइनलमा पुगेको थियो भने युएई दोस्रो सेमिफाइनल खेलमा ओमानलाई डीएल मेथडमा दुई रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
नेपाल र युएईबीच २०१८ पछि भएको १३ खेलमा नेपाल सात तथा छ खेलमा जितेको छ । नेपाल युएईसँग टियु मैदानमा भएको पछिल्लो चार खेलमा नेपाल अपराजित रहेको छ ।
टियु मैदानमा नेपालको लय निकै राम्रो देखिएको छ । टियु मैदानमै भएको पछिल्लो १५ खेलदेखि नेपाल अपराजित रहेको छ । आइसिसीको लिग–२ को अन्तिम खेलमा नेपालले युएईलाई पराजित गरेको थियो ।
फाइनल खेल तय भएको सोमबार काठमाडौंमा वर्षा हुने सम्भावना छ । सोमबार खेल हुन नसकेको खण्डमा मंगलबार रिर्जभ डेको व्यवस्था गरिएको छ ।
सोमबार र मंगलबार दुबै दिन वर्षाको कारण खेल हुन सकेन भने दुई सुपर ओभरबाट नतिजा निकाल्ने प्रयास हुनेछ । पहिलो सुपर ओभर बराबरी भएमा दोस्रो सुपर ओभर हुनेछ ।
सुपर ओभर पनि हुनसक्ने अवस्था नभएमा आइसीसीको एकदिवसीय अन्तराष्ट्रिय (ओडिआई) वरीयतामा माथि हुने टोली एसिया कपमा पुग्नेछ । आइसीसीको ओडीआई वरियतामा १४ औँ स्थानमा रहेको नेपाल र १९ औँ स्थानको रहेको युएईबीचको खेल मङ्गलवार हुनेछ ।
नेपालको सम्भावित प्लेइङ-११
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर) , कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की र ललितनारायण राजवंशी