प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

मादी हत्या काण्ड: चारलाई आजीवन र एकलाई १६ वर्ष कारावास

२०७९ असार २१, मंगलबार ०८:२४ बजे

काठमाडौँ – संखुवासभाको मादी नगरपालिका–१ मा एकै परिवारका ६ जनाको हत्या प्रकरणमा संलग्न चार जनालाई आजीवन कारावासको फैसला सुनाएको छ । जिल्ला अदालत संखुवासभाले एकै परिवारका ६ जनाको हत्या आरोपमा पक्राउ परेकामध्ये चार जनालाई आजीवन कारावास सजाय सुनाइएको हो ।

संखुवासभाले हत्यामा संलग्न १७ वर्षीय एक बालकलाई भने २५ वर्षको दुई तिहाइ (करिब १६ वर्ष) कारावासको फैसला सुनाएको छ । जिल्ला अदालत संखुवासभाका न्यायाधीस शान्ती प्रसाद आचार्यको एकल इजलासले सोमबार पाँच जनालाई कसुरदार ठहर गर्दै काराबासको फैसला सुनाएको जिल्ला अदालत संखुवासभाका श्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिए ।

हत्या आरोपमा २८ वर्षीय लोकबहादुर कार्की, ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका छोरा १७ वर्षीय नरेश पक्राउ परेका थिए । पाँचै जना मृतक तेजबहादुरका नातेदार हुन् ।

२०७८ भदौ २१ गते मादी नगरपालिका–१ उमिलङका ५५ वर्षीय तेजबहादुर कार्की, उनकी आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, ८ वर्षको नाति विपिन र पाँच वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको थियो ।