हेटौंडा – नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य अन्जन विष्ट सम्मानित भएका छन्। शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा अन्जनलाई छत्रबहादुर थापा स्मृति ट्रस्टले नगद ५० हजार सहित सम्मान गरेको हो। अन्जनलाई प्रधानसेनापति प्रभुराम शर्माले सम्मान गरेका थिए।
यसअघि नेपाली राष्ट्रिय टोलीका सदस्य नवयुग श्रेष्ठ छत्रबहादुर स्मृतिबाट सम्मानित भएका थिए। नेपाली राष्ट्रिय टोलीमा नियमित सदस्य अन्जनले हालसम्म ११ गोल गरिसकेका छन्।
एन्फा एकेडेमीका अन्जनले बंगलादेशसँग असोजमा भएको मैत्रीपूर्ण खेलमा ह्याट्रिक गरेका थिए। १२औं दशौं दक्षिण एसियाली खेलकुद (साग), बंगबन्धु कप र एएफसी सोलिडारिटी कप नेपालले जित्दा अन्जन मुख्य खेलाडी थिए।
त्यस्तै भारोत्तोलन खेलाडी कमल अधिकारी सम्मानित भएका छन्। शिव विष्णु स्मृति स्ट्रस्टले कमललाई नगद ५० हजार सहित सम्मान गरेको हो। कमलले सन् २००६ कोलम्बोमा आयोजना भएको दशौं सागमा नेपाललाई स्वर्ण पदक जितेका थिए। त्रिभुवन आर्मी क्लबमा आबद्ध कमलले ५७ साल यता भारोत्तोलन खेलमा लगातार खेल्दै आएका थिए।

तत्कालीन शाही नेपाली सेनाका महासेनानी स्व.छत्रबहादुर थापाको स्मृतिमा चौथो पटक सम्मान कार्यक्रम आयोजना भएको हो। कार्यक्रममा स्वर्गीय छत्रबहादुरका छोरा पूर्व उपप्रधानमन्त्री कमल थापा, डा, बिष्णु भण्डारी, संस्थाका अध्यक्ष नेपाली सेनाका अप्रा रथी नेत्रबहादुर थापा लगायतको उपस्थिती रहेको थियो ।