काठमाडौं – कजाकिस्तानमा अजरबैजान एयरलाइन्सको जहाज दुर्घटना हुँदा ६७ जनामध्ये २८ जनाको उद्धार गरिएको छ। उक्त जहाजमा ६२ यात्रु र चालक दलका पाँच जना थिए।
अजरबैजान एयरलाइन्सको फ्लाइट नम्बर जे २-८२४३ बुधबार आपतकालीन अवतरण गर्ने क्रममा अक्टाउ सहरको विमानस्थलमा दुर्घटनाग्रस्त भएको हो। भारतीय समाचार संस्था एनडिटिभीका अनुसार उद्धार गरिएका २८ जनालाई अस्पताल लगिएको छ।
जहाज अजरबैजानको राजधानी बाकुबाट रूसको ग्रज्नी तर्फ उडान भरेको थियो। तर कुहिरोको कारण विमानलाई डाइभर्ट गरी अक्टाउमा अवतरण गराउनुपरेको थियो। अवतरणका क्रममा जहाज रनवेमा छोएलगत्तै आगलागी भएको र धुवाँको मुस्लो उडेको देखिएको छ।
रूसी समाचार संस्थाहरूका अनुसार मौसमका कारण विमान डाइभर्ट गरिएको बताइएको छ। दुर्घटनापछि उद्धार कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको स्थानीय अधिकारीहरूले जनाएका छन्।