प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

गठबन्धनमा एकीकृत समाजवादीलाई कति सिट ?, विरोध खतिवडाको स्थान सुरक्षित

२०७९ आश्विन १३, बिहीबार ०३:४० बजे

हेटौंडा – सत्ता गठबन्धनमा सहभागी दलहरुबीच प्रतिनिधि सभा सिट बाँडफाँटमा लगभग सहमति भएको छ । बुधबार रातिसम्म भएको छलफलले एकाध सिटबाहेक सबै क्षेत्र टुंगाएको हो ।

नेपाली कांग्रेसले ८३ सिट, नेकपा माओवादी केन्द्र ३६ सिट, नेकपा एकीकृत समाजवादीले १४ सिट, जनता समाजवादी पार्टी १३ सिट र राष्ट्रिय जनमोर्चा २ सिट लिने फाइनल सहमति भएको समाचार आएको छ । १७ क्षेत्रमा दोहोरो तेहरो दाबी कायमै छ । 

त्यस्तै  मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नं.२ मा नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा पुर्वमन्त्री विरोध खतिवडाको नाममा सुरक्षित भएको छ । एक अनलाइनमा प्रकाशित समाचारका अनुसार समाजवादीले पाउने क्षेत्र मध्ये मकवानपुरको क्षेत्र नं.२ पनि रहेको छ ।

समाजवादीले मकवानपुर २ संगै इलाम १, रौतहट १, बारा ४, धादिङ १, काठमाडौं ८, ललितपुर २, कास्की २, गुल्मी २, पाल्पा २, रुपन्देही २, दाङ १, डोल्पा, दैलेख १, अछाम १, बझाङ र डोटीको निर्वाचन क्षेत्र पाउने सहमति भएको बताईएको छ ।

जसमाध्ये बारा ४, धादिङ १, अछाम १ निर्वाचन क्षेत्रमा अन्य पार्टीले दाबी गरेकाले दिन बाँकी रहेको बताईएको छ । अन्य निर्वाचन क्षेत्रको हकमा विवाद नरहेको नेताहरुले बताएका छन् ।

गत भदौ ४ गते क्षेत्रीय कमिटि बैठकले मकवानपुरको क्षेत्र नंबर २ को प्रत्यक्षतर्फ विरोध खतिवडाको एक्कल सिफारिस गरेको थियो । यससँगै पुर्व स्वास्थ्य मन्त्री समेत रहेका खतिवडालाई पाँचौँ पटक सांसद बन्ने अवसर मिल्न सक्ने देखिए छ । उनी यसअघि २०४८,२०५१,२०५६ र २०७४ को प्रतिनिधिसभाको चुनावमा विजयी भएका थिए ।