प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा मनहरी र बागमती पछि आज बाँकी पालिकाको बजेट सार्वजनिक हुँदै

२०८२ असार १०, मंगलबार ०६:३१ बजे

मकवानपुर । मकवानपुर जिल्लाका अधिकांश स्थानीय तहहरूले आज (असार १० गते) आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गर्ने तयारी गरेका छन् ।

संविधान र कानुनअनुसार समयमै बजेट ल्याउनुपर्ने बाध्यताका कारण आठवटा पालिकाहरूले आजै आफ्ना योजना र दृष्टिकोण सार्वजनिक गर्ने भएका हुन् ।

जिल्लाका १० मध्ये मनहरी गाउँपालिका र बागमती गाउँपालिकाले केही दिनअघि नै नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गरिसकेका छन् ।

बाँकी रहेका ८ पालिकाहरू — हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, भीमफेदी, मकवानपुरगढी, राक्सिराङ, बकैया, कैलाश र इन्द्रसरोवर गाउँपालिकाले आ–आफ्ना गाउँ तथा नगरसभा बोलाई बजेट प्रस्तुत गर्ने कार्यक्रम तय गरिसकेका छन्। 

कति पालिकाले नीति तथा कार्यक्रमको मस्यौदा समेत सार्वजनिक गरिसकेको जनाइएको छ भने प्रमुख प्रशासकीय अधिकृत, आर्थिक शाखा प्रमुख, जनप्रतिनिधि र सरोकारवालाबीच बजेटको प्राथमिकता र स्रोत व्यवस्थापनसम्बन्धी छलफलपछि अन्तिम मस्यौदा तयार पारिएको छ ।

मनहरी र बागमती गाउँपालिकाले यस वर्ष सबैभन्दा पहिले बजेट सार्वजनिक गरेका पालिका हुन् ।

दुवै पालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, जल स्रोत संरक्षण र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै समावेशी र दिगो विकासलाई लक्ष्यमा राखेको उल्लेख गरिएको छ ।