प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुर सहित विभिन्न जिल्लामा ६ जना मृत अवस्थामा फेला

२०८० मंसिर २५, सोमबार १८:०० बजे

हेटौंडा – मकवानपुर, काठमाडौँ, चितवन, मोरङ, जाजरकोट लगायतका जिल्लामा सोमबार ७ जना मृतअवस्थामा फेला परेका छन् । मकवानपुरको मनहरी गाउँपालिका वडा नं.३ स्थित निर्मला बस्तीमा अन्दाजी २० बर्षीया कान्छी(बोलाउने नाम) प्रजा ओछ्यान सुतेकै अवस्थामा मृत फेला परेकी छन् ।

प्रहरीका अनुसार उनी हेटौंडा उपमहानगरपालिका वडा नं.१७ हटियाबाट निर्मलाबस्तीस्थित आफन्त शान्ती प्रजाको घरमा गएकी थिइन् । शनिबार बेलुका खाना खाएर एक्लै कोठामा सुतेकी कान्छी बिहान आफन्त उठेर हेर्दा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै काठमाडौँको कागेश्‍वरी मनोहरा नगरपालिका–६ मुलपानी घर भएका ३८ वर्षीय अमृत ढकाल आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी चितवनको भरतपुर महानगरपालिका–४ भगवती टोल डेरा गरी बस्ने प्यूठान मालारानी नगरपालिका–४ घर भएकी ४२ वर्षीया झरना बैजाली पुन मगर आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन् ।

उता, मोरङको विराटनगर महानगरपालिका–६ रामपुर चोक बस्ने ४५ वर्षीय राजेश सहनी पनि आफ्नै घर नजिक मृत अवस्थामा फेला परेका छन् । त्यस्तै रूपन्देहीको सैनामैना नगरपालिका–६ बैकुण्ठपुर डेरा गरी बस्ने गुल्मी ईस्मा गाउँपालिका– ६ घर भएका ५५ वर्षीय थकारी कुमाल पनि आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् ।

यता, सुर्खेतको भेरीगंगा नगरपालिका–१२ छिन्चु बजारस्थित पेटीमा सोही नगरपालिका–४ बाहुनचौर बस्ने ४२ वर्षीय प्रेम परियार पनि मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

त्यसैगरी जाजरकोट, बारेकोट गाउँपालिका–८ लैखम बस्ने ७५ वर्षीया धनी खत्री पनि मृत अवस्थामा फेला परेकी छन् । खत्री सोही नगरपालिका–८ अँधेरीखोला भन्ने स्थानमा मृत अवस्थामा फेला परेकी हुन् ।

सबै घटनाका बारेमा आवश्यक अनुसन्धान भैरहेका प्रहरीले जनाएको छ ।