प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

पर्खालबाट हामफाल्दा आमाको मृत्यु, छोरा घाइते

२०७९ बैशाख १५, बिहीबार ०६:४४ बजे

भक्तपुर – मोरङ सुन्दर हरैचा नगरपालिका–९ विराटचोक घर भई हाल मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारमा डेरा गरी बस्ने आमा–छोरा एकैसाथ ५० मिटर अग्लो पर्खालबाट हामफाल्दा आमाको मृत्यु भएको छ भने छोरा गम्भीर घाइते भएका छन् ।

कमेरोटारस्थित डेरा कोठा नजिकै रहेको कमेरोटारको पिपल चौतारोबाट हामफाल्दा ७४ वर्षीया मनमाया तिमिल्सिनाको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

पर्खालबाट हामफाल्दा गम्भीर घाइते भएका मृतकका कान्छो छोरा ४९ वर्षीय मातुराम तिमिल्सिनाको मध्यपुर अस्पतालमा प्राथमिक उपचारपश्चात वीर अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिए । घटनाबारे प्रारम्भिक अनुसन्धान गर्दा घटनामा संलग्न दुवै जना डिप्रेशनको बिरामी रही लामो समयदेखि औषधि सेवन गर्दै आइरहेको पाइएको र थप उपचार भइरहेको उनले जानकारी दिए ।

घटनास्थलमा सुसाइट नोटसमेत भेटिएको छ । यसबारेमा बुझ्दा महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले १९ वर्षदेखि डिप्रेसनको औषधि सेवन गर्दा भएको शारीरिक र मानसिक पीडा सहन नसकी मृत्यु रोजेको विषय लेखेको जानकारी दिए । घटनाबारे थप अनुसन्धान जारी रोखको उनले बताए ।

त्यस्तै आज ओखलढुङ्गा सुनकोशी गापा–९ घर भई हाल मध्यपुरथिमि नगरपालिका–३ कौशलटारमा डेरा गरी बस्ने ५० वर्षीय लालविनोद कटुवाल शौचालयमा लडेर मृत्यु भएको छ । शौचालयमा लडेर घाइते भएका कटुवालको भक्तपुर इन्टरनेशनल अस्पताल कौशलटारमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।