प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

घुस लिने भूमिसुधारका नासुसहित दुई जनालाई कैद र जरिवाना

२०८० चैत्र २०, मंगलबार २०:५३ बजे

काठमाडौं – विशेष अदालतले भ्रष्टाचार मुद्दामा दुई जनालाई सजाय सुनाएको छ। भूमिसुधार कार्यालय महोत्तरीका नायव सुब्बा र लेखापढी व्यवसायीलाई घुस लिएको अभियोगमा दोषी ठहर गरेको हो।

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजालसले गत वैशाखमा दायर मुद्दामा फैसला गरेको हो। घुस लिइ भ्रष्टाचार गरेको मुद्दामा फैसला गर्दै विशेषले नासु रामकृष्ण पण्डित र लेखापढी व्यवसायी सुभाषचन्द्र लाल कर्णलाई दोषी ठहर गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूमाथि यसै वर्ष ७ वैशाखमा मुद्दा चलाएको थियो। विशेषका अधिकृत यज्ञराज रेग्मीका अनुसार पण्डितलाई एक महिना कैद र नौ हजार रुपैयाँ जरिवाना तोकेको छ।

जलेश्वरमै भूसेवा केन्द्र सञ्चालन गर्दै आएका लेखापढी व्यवसायी कर्णलाई विशेषले मतियार ठहर गर्दै आधा सजाय गरेको छ। उनलाई १५ दिन कैद र ४५ सय रुपैयाँ जरिवानाको सजाय सुनाइएको हो।

कर्णले पण्डितले भनेअनुसार सेवाग्राहीसँग नौ हजार घुस लिएको भेटिएको थियो। घुसवापतको रकम लिइसकेको अवस्थामा १८ फागुन २०७९ मा कर्णलाई रंगेहात नियन्त्रणमा लिइएको थियो। दाखिला खारेज गरी जग्गाधनी पुर्जा दिलाइदिने प्रयोजनका लागि पण्डिले घूस मागेका थिए।