प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

कुटपिट गरी मगरको हत्या, तीन जना पक्राउ

२०८१ आश्विन ३०, बुधबार १८:५० बजे

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्ती लसलाइट स्कुल नजिकै मंगलबार दिउँसो सवा ३ बजे एक जना पुरूषको कुटपिट गरी हत्या भएको छ। कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ४३ वर्षीय होमबहादुर फौजामगरको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

पक्राउ पर्नेमा पाँचथर घर भई कपन बस्ने ३८ वर्षीय अमृत मगर, सिन्धुपाल्चोकका ३५ वर्षीय भुवन श्रेष्ठ र इलाम घर भई नयाँ बस्ती बस्ने २७ वर्षीया बिमला भट्टराई छन्।

होमबहादुर नयाँबस्तीमा अचेत अवस्थामा फेला परेका थिए। उनलाई तत्कालै प्रहरी वृत्त बौद्धको टोलीले नारायणटारस्थित शंखरापुर अस्पतालमा पुर्‍याएको थियो।उपचारको क्रममा उनलाई चिकित्सकले साढे ३ बजे मृत घोषणा गरेको एसपी अधिकारीले जानकारी दिए।

घटनामा संलग्न तीन जनालाई पनि प्रहरीले मंगलबार राति नै पक्राउ गरेको एसपी अधिकारीले बताए। उनीहरूमाथि प्रहरी वृत्त बौद्धले अनुसन्धान अघि बढाएको छ।