प्रहर खबर
 २०८३ भाद्र १८, बिहीवार    

सवारी दुर्घटनामा एक सशस्त्र प्रहरी सहित दुई जनाको मृत्यु, एक घाइते

२०७९ फाल्गुन १४, आईतबार ०६:४७ बजे

हेटौंडा – रुपन्देही र सिन्धुपाल्चोकमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका ५ मणिग्राममा शनिबार साँझ ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना भने घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल चालक सशस्त्र प्रहरी २७ नम्बर गण रुपन्देहीमा कार्यरत पाल्पाको तानसेन नगरपालिका १० का ३३ वर्षीय राजन बस्नेत रहेका छन् ।

दुर्घटनामा घाइते भएका बस्नेतको उपचारको क्रममा क्रिमशन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका मोटरसाइकलको पछाडी सवार सोही ठाउँमा बस्ने ३३ वर्षीय कुल बहादुर खाम्चाको उपचार क्रिमशन अस्पतालमै भइरहेको प्रहरीले जनाएको छ ।

सडक छेउमा रोकी राखेको लु ४ त ९३५ नम्बरको ट्याक्टरमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ७९ प ९२ ५५ नम्बरको मोटरसाईकल ठोकिएको थियो ।

त्यस्तै सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका ६ गुफाडाँडामा मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमानै मृत्यु भएको छ । गुफाडाँडा बस्ने अन्दाजी ४७ वर्षीय राधे बन्जराको मृत्यु भएको हो ।

धापबाट गुफाडाँडातर्फ जाँदै गरेको बाग्मती प्रदेश–०२–०२०प ८८९४ नम्बरको मोटरसाइकल शनिबार बेलुकी ७ बजे सडकबाट अन्दाजी ६ मिटर तल खसेको थियो । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी चौकी पाँचपोखरी थाङपालले जनाएको छ ।