प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

अमेरिकामा मेरो ऋण र सम्पत्ति दुवै छैन: रवि लामिछाने

२०७९ श्रावण २४, मंगलबार ११:०३ बजे

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अमेरिकामा आफ्नो ऋण र सम्पत्ति दुवै नभएको स्पष्टीकरण दिएका छन् । उनले आफ्नो आधिकारीक फेसबुक मार्फत अमेरिकामा आफ्नो जायजेथा सबै बिक्री गरिसकेको र ऋण पनि चुक्त गरिसकेको बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्,‘अमेरिकामा आफ्नो जायजेथा बेच्दा, सबै ऋण नतिरी बेच्न मिल्दैन। मैले सबै तिरोतारो सकिसकेंको छु। न मेरो ऋण बाकी छ न मेरो नाममा कुनै सम्पत्ती नै छ।’

उनले ‘ओपन’ लेखिएको एउटा केसमा तिर्नुपर्दैन भनेर वादीले नै फिर्ता गरेको उल्लेख गरेका छन् । लामिछानेका अनुसार निश्चित समयपछि त्यो पनि ‘क्लोज्ड’ देखिन्छ । ‘मैले मेरो बक्यौता तिर्ने तर सकेसम्म कम तिर्ने सोच राखेको हुँ । भागेको, लुकेको, ठगेको केही पनि होइन । भुलेको भए बेग्लै कुरा, तर मैले नियतवश व्यक्तिगत लेनदेनसमेत गरी कसैलाई केही तिर्नुपर्ने बाँकी राखेको छैन,’ उनले लेखेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत संसारमा कतै पनि आफूविरुद्ध कुनै मुद्दा नरहेको पनि स्पष्टीकरण दिएका छन् । उनले लेखेका छन्, ‘यो दुनियाँमा आजका मितिमा मेराविरुद्ध कुनै मुद्दा भएको मलाई थाहा छैन । थाहा पाएँ भने अघिल्लो जन्मको समेत तिर्छु ।’ लामिछानेविरुद्ध अमेरिकामा विभिन्न मुद्दा चलिरहेको भन्दै सामाजिक सञ्जालमा चर्चा भएपछि उनले प्रष्टीकरण दिएका हुन् ।