काठमाडौँ – हेटौँडास्थित सन्चो अस्पतालका डाक्टरमाथि भएको आक्रमणका दोषीलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै नेपाल चिकित्सक संघले आजदेखि देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरू पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ।
सङ्घले एक विज्ञप्ति जारी गर्दै आफूहरूले दिएको अल्टिमेटममा माग पूरा नभएको भन्दै आन्दोलनका कार्यक्रमहरूको घोषणा गरेको हो। देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू पूर्ण रूपमा बन्द गर्ने सङ्घले जनाएको छ ।
गत भदौ २७ गते सन्चो अस्पतालमा कार्यरत डा विकास थापा र डा प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो । सङ्घले कुटपिटमा संलग्न सबै दोषीहरूको छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाहीको सुनिश्चितता गर्न माग गरेको छ।
जारी विज्ञप्तिमा स्वास्थ्य संस्था सुरक्षाबलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था अबिलम्ब मिलाउन पनि माग गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार डाक्टर कुटपिट घटनामा संलग्न मध्ये पदमपोखरीका रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानलाई पक्राउ गरेको छ । उनीह्रुलाई ३ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिसकेको बताएको छ ।