हेटौंडा । हेटौंडा–४ मा अवस्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्टले आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा शिक्षाशास्त्र संकाय अन्तर्गत निशुल्क पठनपाठन सञ्चालन गर्ने भएको छ।
शिक्षा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित यस्तो निर्णय गरिएको हो। पछिल्लो समय गुणस्तरीय शिक्षकको अभाव गहिरिंदै गएको पृष्ठभूमिमा, विद्यालयले नवोदय इनोभेसन सेन्टरसँगको सहकार्यमा निशुल्क शिक्षण कार्यक्रम ल्याउन लागेको हो ।
विद्यालयले आइतबार सार्वजनिक गरेको विज्ञप्ति अनुसार, नेपाली, अंग्रेजी र गणित विषयमा कक्षा सञ्चालन गरिनेछ। साथै, अध्ययनसँगै व्यवहारिक शिक्षण अभ्यासको अवसर समेत प्रदान गरिने उल्लेख छ। यस्तो अभ्यासले विद्यार्थीमा शिक्षण क्षेत्रमा आत्मविश्वास र व्यवहारिक दक्षता विकास हुने विद्यालयको विश्वास छ ।
विद्यालयका अनुसार, शिक्षाशास्त्र संकायका लागि सीमित संख्यामा मात्र विद्यार्थी भर्ना लिइनेछ। हेटौंडा स्कूल अफ म्यानेजमेन्टले २०५२ सालदेखि शिक्षा क्षेत्रमा सेवा दिँदै आएको हो । हाल विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, वाणिज्य, होटल म्यानेजमेन्ट तथा व्युटिसियन संकाय सञ्चालनमा छन्। यस्तै, स्नातक तहमा BIM, BCA र BBS विषयहरूमा पनि अध्यापन हुँदै आएको छ ।
केही वर्षअघि मानविकी र शिक्षाशास्त्र संकायमा विद्यार्थी आकर्षण घटेपछि ती संकायहरू हटाइएको थियो। तर वर्तमानमा शिक्षक अभावलाई सम्बोधन गर्न पुनः शिक्षाशास्त्र संकाय पुनःस्थापना गर्दै निशुल्क पठनपाठनको सुविधा ल्याइएको हो। विद्यालय प्रशासनले इच्छुक विद्यार्थीहरूलाई समयमै फारम भर्न र प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।
शारदा माविका SEE टप विद्यार्थीलाई नगद सहयोग
यसै सन्दर्भमा, मकवानपुरगढी गाउँपालिका–५ मा रहेको श्री शारदा माध्यमिक विद्यालयका २५ जना विद्यार्थीलाई एसईईमा सामुदायिक विद्यालयतर्फ १००% नतिजा ल्याउन सफल भएकोमा हेटौंडा स्कूल अफ म्यानेजमेन्टले जनही रु. २५०० नगद प्रोत्साहन दिने घोषणा गरेको छ ।
मगंलबार वडा नं. ५ मा आयोजित ‘बधाई तथा शुभकामना कार्यक्रम’ मा बोल्दै विद्यालयका सञ्चालक पुरण बहादुर जोशीले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई उच्च शिक्षातर्फ प्रोत्साहित गर्न सहयोग गरिएको बताए।
उनका अनुसार, विद्यार्थीहरूलाई हौसला दिन र ग्रामीण तहबाट आएका प्रतिभालाई अवसर दिने उद्देश्यले यो सहयोग प्रदान गरिएको हो। “गाउँमा बसेर पनि राम्रो गर्न सकिन्छ भन्ने उदाहरण बनेका विद्यार्थीलाई सानो प्रेरणास्वरूप यो रकम प्रदान गरेका हौं,” जोशीले भने।