काठमाडौं – देशव्यापी रूपमा फैलिएको मिटरब्याजी ऋण जालो छानबिन गर्न गठन भएको आयोगले काम सुरु गरेको छ । मिटरब्याजपीडितका समस्या पहिचान गरी न्याय दिलाउने उद्देश्यले सरकारले गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले प्रारम्भिक जाँचबुझ सुरु गरेको जनाएको छ । आयोगका तर्फबाट अध्यक्ष कार्कीले बिहीबार विज्ञप्ति जारी गर्दै जाँचबुझ सुरु भएको जानकारी दिनुभयो । कार्कीका अनुसार यही वैशाख १७ गतेदेखि धनुषाको जनकपुरधाममा कार्यालय स्थापना गरी जाचबुझ सुरु गरिने जानकारी दिनुभएको छ ।
नवगठित आयोगले प्रारम्भिक चरणमा मिटरब्याजपीडितले निवेदन संकलन गरी सबुत प्रमाण सकलन गर्ने जनाएको छ । पीडितले अनलाइनमार्फत सिधै आयोग वा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सक्ने गरी प्रजिअ कार्यालयमा मिटरब्याजपीडित सहायता कक्ष स्थापना गर्ने जनाएको छ ।
धनुषाबाट वैशाख १७ देखि ३१ सम्म निवेदन सकलन गर्ने तालिकासमेत आयोगले सार्वजनिक गरेको छ । गृह मन्त्रालयले यसअघि देशभरिबाट विवरण सङ्कलन गर्दा तीन हजारभन्दा बढी मिटरब्याजपीडितले आवेदन दिएका थिए। आयोगले देशभरिबाट पुनः निवेदनसँग प्रमाण सकलन गरी सरकारलाई प्रतिवेदन पेस गर्नेछ ।