प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ

२०८१ बैशाख ८, शनिबार ०८:२४ बजे

पेरिस – फ्रान्सेली प्रहरीले पेरिसस्थित इरानको दूतावासमा बम विस्फोट गराउने धम्की दिने एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले दूतावासमा कुनै विस्फोटक पदार्थ फेला पारेको भने छैन ।

शुक्रबार हिरासतमा राखिएका ती संदिग्ध व्यक्तिका बारेमा फ्रान्सेली अभियोजकहरूले भने, ‘दूतावासको कन्सुलर कार्यालयले एक व्यक्ति गोला बारुद लिएर प्रवेश गरेको रिपोर्ट गरेपछि उनलाइ पक्राउ गरेका थिए ।’

सन् १९६३ मा इरानमा जन्मेका संदिग्धलाई प्रहरीले भित्रबाट ‘हिंसक कारबाहीको धम्कीू दिएको देखिएपछि आफ्नै सहमतिबाट बाहिरिएपछि पक्राउ गरेको एजेन्सी फ्रान्स प्रेस समाचार एजेन्सीले जनाएको छ ।

तर यस घटनामा भने कुनै पनि विस्फोटक पदार्थ भेटिएको छैन, न उनीसँग न त उनको कारमा वा भवनमा नै कतै पनि नभेटिएको अभियोजनकर्ताहरूले जनाएका छन ।

एक प्रहरीका अनुसार ती व्यक्तिलाई बिहान ११ बजे कन्सुलर कार्यालयमा प्रवेश गरेको सिसिटभी फुटेजमा देखिएको थियो, जसमा ग्रेनेड र विस्फोटक भेस्ट लगाएको जस्तो देखिन्थ्यो त्यसपछि प्रहरीले उक्त क्षेत्र घेराबन्दी गरेको थियो ।

उक्त व्यक्ति पछि कार्यालय छाडेर भाग्न खोजे पछि पक्राउ परेका थिए ।

प्रहरी स्रोतका अनुसार गत सेप्टेम्बरमा भएको घटनामा इरानी दूतावास नजिकै आगजनी गर्ने प्रयास गरेको आशंकामा पक्राउ परेका उही व्यक्ति आज पनि अर्को प्रयास गरेको खुलेको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।