प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

साउदी अरेबियासँग भिड्दै नेपाल

२०८० बैशाख ११, सोमबार ०२:०६ बजे

काठमाडौं – एसिसी प्रिमियर कपअन्तर्गत आज नेपालले आफ्नो तेस्रो खेलमा साउदी अरेबियासँग भिड्दैछ।मुलपानी मैदानमा नेपाल र साउदीबीच खेल विहान ९ बजे खेल सुरु हुनेछ। नेपालले मुलपानी मैदानमा पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो।

समूह ‘ए’ मा रहेको नेपालले यसअघि दुवै खेलमा जित हात पारेको थियो। कीर्तिपुरमा नेपालले मलेसिया र ओमानमाथि जित हात पारेको थियो। समूहको शीर्ष स्थानमा रहेको नेपालले आजको खेलमा जित हात पारे सेमिफाइनल पुग्नेछ।

साउदी पनि नेपाललाई हराएर सेमिफाइनल सम्भावना बलियो बनाउने योजनामा छ । नेपाल र साउदी अरेवियाबीच अहिले सम्म एक खेल भएकोमा नेपाल अपराजित रहेको छ ।

नेपाल र साउदीबीचको एक मात्र भेट २०१२ मा युएईमा आयोजना भएको एसीसी ट्रफि एलिटमा भएको थियो । यो खेल नेपालले ९ विकेटले जितेको थियो । प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह 'ए' मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह 'बी' मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।

हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन् । फाइनलको विजेता टोली एसीया कपका लागि छनोट हुनेछ । एसीया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ । यस्तै शीर्ष तीनमा रहने टोली एसीसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।