धादिङ – नेपाल नगरपालिका सङ्घका अध्यक्षसमेत रहेका भीमप्रसाद ढुङ्गाना प्रमुख रहेको धादिङको नीलकण्ठ नगरपालिकाले एक दिनको बैठक गरी सहभागीलाई दुई दिनको भत्ता दिएको छ ।
नगरपालिकाले बिहीबार नगर सभा गरे पनि बिहीबार र शुक्रबारको फरक फरक उपस्थितिमा हस्ताक्षर गराएर दुई दिनको भत्ता दिएको हो। नगर सभामा दुई सयभन्दा बढीको हस्ताक्षर गराइएको छ ।
बिहीबारको नगर सभामा सहभागीलाई खाजा र खानाको समेत व्यवस्था गरिएको भनी निमन्त्रणा गरिएको थियो भने प्रदेश सरकारले तोके बमोजिम सहभागीलाई प्रतिदिनको कर कट्टी गरेर ८५० रुपियाँका दरले भत्ता उपलब्ध गराएको बताएको छ ।
अघिल्लो पाँच वर्षको कार्यकालमा पनि ढुङ्गाना नेतृत्वको नगर कार्यपालिकामा रहेर काम गरेका वडा नं.२ का वडाध्यक्ष घोजबहादुर गुरुङले नगर सभा एकै दिनमा सकेर हरेक वर्ष दुई दिनको उपस्थिति उठाउने गरेको जानकारी दिए ।
एकै दिनमा नगर सभा सकेर दुई दिनको सुविधा लिने गरी निर्णय उठाएको थाहा पाएपछि वडा नं. ३ का वडाध्यक्ष राजकुमार श्रेष्ठले निर्णय पुस्तिका मगाएर दोस्रो दिनको उपस्थितिमा गरिएको हस्ताक्षर रद्द गरी (कोरेर) एक दिनको भत्ता फिर्ता गरेको जानकारी गराए ।
“सुरुमा थाहा भएन। पछि थाहा पाएपछि एक दिनमा सभा सकेर दुई दिनको सुविधा लिनु सबभन्दा ठूलो अनियमितता हो भनेर हस्ताक्षर कोरेको हुँ श्रेष्ठले भने ।
यसबारेमा नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी बोल्न चाहेनन् भने उपप्रमुख दीपक विश्वकर्माले नगर सभाको निर्णय पुस्तिका नगर प्रमुखले प्रमाणित गर्ने भन्दै पन्छिए । गोरखापत्र दैनिकबाट