बनेपा – अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण क्षति पुगेको बिपी राजमार्गको काभ्रेपलान्चोक क्षेत्रभित्रको सडक खण्डमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । सडक डिभिजन कार्यालय भक्तपुरले बुधबार सूचना जारी गर्दै बिपी राजमार्ग अन्तर्गत धुलिखेल–भकुण्डेबेंसी–वर्षेखोला सडक खण्ड साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म बन्द रहने जनाएको हो ।
सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बाढीपहिरोका कारण क्षति भएको बिपी राजमार्गको काभ्रेपलान्चोक सडक खण्डमा खोलिएको ट्रयाकको मर्मत तथा सुधार कार्य भइरहेकोले तत्कालका लागि साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको बताए ।