प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

२०८१ कार्तिक ३, शनिबार १६:३८ बजे

काठमाडौं – देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी बैतडीमा एक जनाको मृत्यु भएको छ ।

बैतडीको दोगडा केदार गाउँपालिका ७ खोचलेकस्थित सडकमा सुप प्र ०१–००१ ह ६०७० नम्बरको अटो अनियन्त्रित भई सडकबाट १ सय मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार दोगडा केदार गाउँपालिका २ बस्ने ४५ वर्षीया बसन्ती जोशीको मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका १ जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै चितवनको भरतपुर महानगरपालिका १६ फुर्तिचोकमा फुर्तिचोकबाट कार्कीचोकतर्फ जाँदै गरेको बा प्र–०३००४ प ५१९७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७७ वर्षीया बेल कुमारी गैरेको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता बाँकेको राप्तिसोनारी गाउँपालिका १ सौरीस्थित सडकमा कैलालीबाट जनकपुरतर्फ जाँदै गरेको क प्र ०२–००२ प १३७६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा चालक कैलाली लमकीचुहा नगरपालिका ७ खरैला बस्ने २४ वर्षीय ललित भण्डारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

नवलपरासी पूर्वको कावासोती नगरपालिका १ बालुवाडाँडास्थित सडकमा बुलिङटारबाट कावासोतीतर्फ जाँदै गरेको बा प्र ०७–००१ ज ००२० नम्बरको बोलेरो पिकअप गाडी अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बुलिङटार गाउँपालिका २ बस्ने २० वर्षीया पवित्रा मर्साङ्गीको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा र हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३३ वर्षीय पुरूषको नवलपुर अस्पताल कावासोतीमा उपचारको क्रममा मृत्यु भएको हो ।