प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

प्रधानमन्त्रीले हेटौंडा आएर भने–‘सरकारको नीति तथा कार्यक्रमले जनतालाई आर्थिक समृद्धितर्फ डोर्‍याउँछ’

२०७९ श्रावण ६, शुक्रबार ०८:३८ बजे

मकवानपुर – नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको शुक्रबार हेटौँडामा उद्घाटन गर्दै उनले संविधानमा उल्लेखित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै मानव अधिकारको प्रत्याभूति गर्न सरकार दृढ छ भने ।

उनले भने, “आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रमले जनतालाई आर्थिक समृद्धितर्फ डोर्‍याउँछ ।”

प्रधानमन्त्री देउवाले सञ्चारकर्मीले पनि देश र जनताप्रति उत्तरदायी बहन गर्दै सत्य र निष्ठ समाचारलाई जनतासामु सम्प्रेषण गर्ने बानीब्यहोरालाई आत्मसात् गर्नसके मात्र प्रजातन्त्रको सुदृढीकरणमा बल मिल्ने बताए ।

उनले भने, “मुलुकको प्रजातन्त्र र राष्ट्रियताको संवर्द्धन गर्न नेपाल प्रेस युनियनको भूमिका अपरिहार्य हुन्छ ।” प्रधानमन्त्री देउवाले नागरिकता सुलभ ढङ्गबाट उपलब्ध गराउन सरकारले अहिले प्रतिनिधिसभामा नागरिकतासम्बन्धी नयाँ विधेयक दर्ता गरेको जानकारी दिए ।

उनले देशमा विद्युतको उत्पादन वृद्धि गरेर बाह्य मुलुकमा निर्यात गर्ने लक्ष्यका साथ आगामी वर्षमा विद्युत् उत्पादनलाई केन्द्रबिन्दुमा राखेर बजेट विनियोजित गरिएको बताए। सो अवसरमा प्रधानमन्त्री देउवाले युनियनद्वारा प्रकाशित स्मारिकाको विमोचन गरे ।