प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजाय, ३ लाख जरिवाना र २ लाख क्षतिपूर्ति

२०८० पौष २५, बुधबार १८:०७ बजे

काठमाडौं – जिल्ला अदालत काठमाडौंले बलात्कारी ठहर गरेका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । जिल्ला न्यायाधीश शिशिर ढकालको इजलासले बुधबार बलात्कार मुद्दामा लामिछानेलाई आठ वर्ष सजाय हुने सुनाएको हो ।

इजलासले तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो। गत पुस १३ गते बसेको इजलासले लामिछानेलाई दोषी ठहर गरेको थियो। सजाय निर्धारणका लागि बुधबार इजलास बसेको थियो।

लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर गरेको थियो। पीडित नाबालिग भएको भनेर वादीपक्षले गरेको दावी भने अदालतले विभिन्न कागजातको आधारमा अस्वीकार गरेको थियो।

२०७९ भदौ २१ गते गौशाला २६ ले प्रहरी वृत्त गौशालामा लामिछानेविरूद्ध बलात्कारको जाहेरी दिएकी थिइन्। सोही जाहेरी प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो । 

भदौ २३ मा काठमाडौँ जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको थियो ।प्रहरीमा जाहेरी दर्ता हुँदा उनी क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए।

वेस्ट इन्डिजमा रहेका लामिछाने नफर्केपछि असोज १० गते इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो। त्यसपछि असोज २० गते नेपाल फर्किएका लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रहरीले पकाउ गरेको थियो । 

कात्तिक १८ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। जिल्ला अदालतको आदेशविरूद्ध सन्दीपले उच्चमा पुनरावेदन दिएपछि पुस १८ गते उच्चले उनलाई २० लाख रुपैयाँ धरौटीमा सशर्त रिहा गरेको थियो।