काठमाडौँ – सरकारले जङ्गली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै जङ्गली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो ।
राजपत्रको सूचनाअनुसार निजी खेतबारीमा आई बालीनालीमा क्षति पुर्याउनले जङ्गली बँदेललाई अनुमति विना नै पक्रन र मार्न पाइने छ । ‘ राजपत्रमा प्रकाशित भएको एक वर्षसम्म विना अनुमति जङ्गली बँदेल पक्रन र मार्न सकिने छ,’ राजपत्रमा भनिएको छ,‘ यसका केही सर्त छन्, निजी खेतबारी, खलोमा आएको सानो जातको बँदेलबाहेकका बँदेललाई मात्र पक्रन र मार्न पाइन्छ ।’
पक्रिएका बँदेल सम्बन्धित राष्ट्रिय निकुञ्ज कार्यालय, वन्यजन्तु आरक्ष कार्यालय, शिकार आरक्ष कार्यालय, संरक्षण क्षेत्रको कार्यालय, डिभिजन वन कार्यालय वा त्यस्ता कार्यालय मातहतको नजिकको कार्यालयमा बुझाउनुपर्ने र यसको सूचना सम्बन्धित स्थानीय तहको वडा कार्यालयमा समेत दिनुपर्ने सूचना राजपत्रमा छ ।
धपाउने वा पक्रने क्रममा बँदेलको मृत्यु भएमा त्यस्ता बँदेललाई सम्बन्धित वडाको एक प्रतिनिधिसहित कम्तीमा पाँच जना स्थानीय व्यक्तिको रोहबरमा मुचुल्का उठाइ गाड्नुपर्छ । त्यसरी मारिएका बँदेलको तौलको आधारमा पञ्चकिर्ती मूल्य तोकी उक्त रकम राजश्वमा दाखिला गरी सम्बन्धित वडाभित्र व्यापारिक प्रयोजनबाहेक उपयोग गर्न सक्ने व्यवस्था राजपत्रमा छ ।