घोराही – दाङको बबई गाउँपालिका –४ हापुरेमा आफ्नै भाइको हत्या गरेको आरोपमा दाइ पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३१ बर्षीय पूर्ण तामाङ रहेका छन् । पूर्णले छुरा प्रहार गरेर सहोदर भाइ २८ वर्षीय अनिल तामाङको हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं प्रहरी नायव उपरीक्षक अनिल ठकुरीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक ठकुरीका अनुसार असोज २९ गते बिहान ९ बजेतिर घरायासी विवादका क्रममा पूर्णले भाइ अनिलको पेटमा छुरा प्रहार गरेका थिए ।
घाइते अनिललाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल ल्याएको थियो । अस्पताल ल्याइएको केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए ।
सुरुमा सम्पत्ति माग्दै बिबाद झिकेर आँफैले आफैलाई चक्कु प्रहार गरेको भनिए पनि अनुसन्धानका क्रममा अनिलको मृत्यु दाजुको चक्कु प्रहारबाट भएको खुल्न आएको प्रहरी नायव उपरीक्षक ठकुरीले बताए । बबई गाउँपालिका –४ हापुरे बजारस्थित डोल्मा होटेलभित्र पूर्णले भाइ अनिलको पेटमा चक्कु प्रहार गरेको र झगडा सुनेर भित्र प्रबेश गरेका बुवा सोमारलाई पूर्णले भाइ आफैले पेटमा चक्कु प्रहार गरेको बताएका थिए ।
चक्कु प्रहारबाट भुइमा लडेका अचेत अवस्थाका अनिललाई उपचारका लागि अस्पताल ल्याएको थियो । बाबुमाथि भाइले गरेको दुब्र्यबहारका कारण आवेग र उत्तेजनामा आइ दाजुले भाइमाथि चक्कु प्रहार गरेको बयान दिएको प्रहरीले बताएको छ ।
पूर्ण बुवाआमा र बहिनीसँगै हापुरे बजारमा डोल्मा होटल सञ्चालन गरी बस्दैआएका थिए । भक्तपुरको चाँगुनारायण नगरपालिका –६ नयाँ गाउँमा बस्ने अनिल दसैंको समयमा असोज २३ गते मात्र हापुरे आउनुभएको थियो ।