प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो

२०८१ आश्विन ३०, बुधबार १८:४४ बजे

काठमाडौैं – डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ। घटनास्थलमा बसको छतमुनि च्यापिएका अवस्थामा थप एकजनाको शव फेला परेसँगै मृतकको संख्या पाँच पुगेको हो।

बैतडीको पुर्चौडी नगरपालिका–१० का ६० वर्षीया महिला गोवणी महराको शव घटनास्थलबाट निकालिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए।

प्रहरी निरीक्षक बमका अनुसार खोज तथा उद्धारका क्रममा उनको शव आज बिहान ११ बजेतिर मात्रै फेला परेको हो।

कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौंडीका लागि छुटेको पवनदूत यातायातको ना८ख १०७८ नम्बरको बस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा दुर्घटना भएको थियो ।

यसअघि बैतडीको पुर्चौंडी नगरपालिका-३ का ४५ वर्षीया जयमती बोहरा, अन्दाजी २६ वर्षीया कमला बोहरा, उनको दुईदिने शिशु र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको थियो । उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो ।