काठमाडौँ – गोलभेँडाको मूल्य बढेर थोकमै प्रतिकेजी १८० रुपियाँ पुगेको छ । उपत्यकावासीको माग अनुसार गोलभेँडाको आपूर्ति हुन नसक्दा मूल्य बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
खुद्रामा यसको मूल्य प्रतिकेजी दुई सय रुपियाँदेखि २५० रुपियाँसम्ममा किनबेच भइरहेको छ । समितिका अनुसार केही दिनअगाडि देशभर आएको अविरल वर्षाले गोलभेँडा खेतीमा क्षति पुगेकाले मूल्य उच्च भएको हो । कालीमाटीका व्यापारी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले गोलभेँडाको मूल्य यति धेरै महँगो भएको यो पहिलो पटक भएको बताए ।
उनका अनुसार यहाँभन्दा अघि गोलभेँडाको मूल्य यति धेरै महँगिएको थिएन । उपभोक्ताले बढीमा १५० देखि १८० रुपियाँ तिरेका थिए । गोरखापत्रबाट