प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

विश्वव्यापी रूपमा ३६ मिलियन बालबालिका विस्थापित

२०७९ असार ५, आईतबार ०१:५९ बजे

द्वन्द्व, हिंसा र अन्य संकटका कारण सन् २०२१ को अन्त्यसम्ममा ३६ दशमलब ५ मिलियन बालबालिका विस्थापित भएका संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ)ले जनाएको छ । यो संख्या दोस्रो विश्वयुद्धपछिकै उच्च हो ।

सन् २०२१ मा २ दशमलब २ मिलियनले बढेको यो संख्यामा १३ दशमलब ७ मिलियन बाल शरणार्थी तथा शरण खोज्नेहरू र झण्डै २२ दशमलब ८ मिलियन द्वन्द्व र हिंसाका कारण आन्तरिक रूपमा विस्थापित भएका व्यक्ति समावेश भएका युनिसेफले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जलवायु र वातावरणीय प्रकोपबाट विस्थापित बालबालिका, रुस–युक्रेन द्वन्द्वलगायत सन् २०२२ मा विस्थापित भएका बालबालिकालाई प्रतिवेदनमा समावेश गरिएको छैन ।

ठूलो संख्यामा मानिस विस्थापित हुनुमा अफगानिस्तान जस्तै लामो द्वन्द्वको चपेटामा परेका प्रजातान्त्रिक गणतन्त्र कंगो र यमनजस्ता देशले भोग्नु परेको संकट र जलवायु परिवर्तनको विनाशकारी परिणाम भएको सो निकायले जनाएको छ ।

रिपोर्टअनुसार शरणार्थी बालबालिकामध्ये आधा मात्र प्राथमिक विद्यालयहरूमा भर्ना भएका छन् । त्यस्तै, शरणार्थी किशोर÷किशोरीमध्ये एक चौथाइभन्दा कम माध्यमिक विद्यालयमा अध्ययनरत छन् । एजेन्सी