गएको पुस २६ गते मालवाहक ट्रक ठोक्किएर पुल भाँचिएपछि अस्थायी डाइभर्सनमार्फत सवारी सञ्चालन हुँदै आएको थियो। डाइभर्सन बगेपछि आवातजावात ठप्प हुने र गाडीको लामो लाइन लाग्ने गरेको थियो । यसैमा सास्ति भोग्दै आएका सर्वसाधारणले पछिल्लो साताबाट राजमार्ग नै बन्द भएपछि थप मार खेप्नु परेको छ । यो राजमार्गमा दैनिक झन्डै १८ हजार गाडी चल्ने गरेको थियो ।
हाल साना सवारीसाधन मात्र सञ्चालनमा छन् भने ठूला ट्रक र यात्रुबाहक बसहरू ग्यारेजमै थन्किएका छन्। “ऋणमा लिइएका गाडीहरू चल्न नसक्दा व्यवसायी झनै ऋणमा डुबिरहेका छन्,” अध्यक्ष पराजुलीले भने, “सरकारको लापरवाहीले सर्वसाधारणको पीडा झन् बढेको छ।”
राजमार्ग ठप्प भएपछि दैनिक रूपमा भैरहवा नाकाबाट भित्रिने सामग्रीको ढुवानीमा समेत समस्या उत्पन्न भएको छ। नियमितरूपमा उक्त मार्गमा दैनिक १८ हजारभन्दा बढी सवारी साधन चल्ने गरेका थिए। हाल स्थिति यस्तो बनेको छ कि गाडी चालकहरू रोजगारी गुमाउने स्थितिमा पुगेका छन्।
भैरहवा–चितवन–हेटौंडा रुटमा ट्रक चलाउने चालक केशव श्रेष्ठले एक सातादेखि घरमै बस्नुपरेको गुनासो गरे। “काम नै छैन, आम्दानी शून्य भएको छ,” उनले भने।
ट्रक चालक विवेक कठायतले ट्रकमा बोकेको आलु र प्याज कुहिएको बताए। “बर्दघाटमै चार दिन रोकिएँ, सामान बिग्रियो, गाडीमै सुत्न समेत मुस्किल भयो,” उनले दुखेसो पोखे।
यता, बुटवल–नारायणगढ सडक आयोजनाको सूचना अधिकारी एवं प्रवक्ता शिव खनालका अनुसार आगामी असार २१ गते (जुलाई ६) देखि नयाँ पक्की पुल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। “पुलको ढलान सकिएको छ, अन्तिम तयारी भइरहेको छ,” उनले बताए। यद्यपि मौसमले साथ नदिए केही ढिलाइ हुनसक्ने उनले जनाए।
पुल निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन र परामर्शदाता कम्पनीलाई अबको दुई महिना दाउन्ने सडकमा केन्द्रित भएर तीव्र गतिमा काम गर्न निर्देशन दिइएको बताइएको छ।
सडक खुल्ने आशामा रहेका व्यवसायी र सर्वसाधारणले अब सरकारी प्रतिबद्धताले सार्थकता पाओस् भन्ने अपेक्षा राखेका छन्।