प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मुग्लिन–नौबिसे सडक एक सातासम्म दैनिक ३ घन्टा बन्द हुने

२०८१ पौष ५, शुक्रबार १९:५१ बजे

चितवन – पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडकखण्ड आइतबारदेखि दिउँसोमा एक साता आंशिक बन्द हुने भएको छ।सो सडकखण्डको पोखरेभिर र विशालटारमा चट्टानको भित्तो काटेर घुम्ती सुधार गर्नुपर्ने भएकाले यही पुस ७ देखि १३ गतेसम्म दिनको तीन घण्टा सडक बन्द गर्न लागिएको हो।

नागढुंगा–मुग्लिन सडक योजना पश्चिम खण्डका इञ्जिनियर विजय दरइका अनुसार बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म सवारी रोकेर काम गर्न लागिएको हो।उनका अनुसार पोखरेभिर मोड सुधारका लागि नौबिसेबाट गजुरी छिर्ने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिने छ।

यसैगरी चितवनतर्फबाट नौबिसे छिर्ने भारी सवारी चालिसे र हलुका सवारी घाटबेँसीमा रोकिने छ।

यसैगरी विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु छिर्ने भारी सवारीसाधन मझिमटार र हलुका सवारीसाधन चरौंदी बजारमा रोकिने छभने मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारीसाधन बेनिघाट बजार र हलुका सवारीसाधन विशलालटारमा रोकिने उनले जानकारी दिए।

एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने मिलाएर छाडिने उनले बताए।