काठमाडौं – छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा नेपालले शानदार जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा भुटानलाई ४–० गोल अन्तरले हराउँदै नेपालले शानदार सुरुआत गरेको हो ।
नेपाललाई जित दिलाउन सावित्रा भण्डारी र अनिता बस्नेतले दुई–दुई गोल गरिन् । खेलको १२ औं मिनेटमा अमिषा कार्कीको पासमा सावित्राले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।
खेलको ६७ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाईन् । खेलको ७२ औं मिनेटमा अनिताले गोल गर्दै नेपाललाई ३–० को अग्रता दिलाईन् । खेलको ८४ औं मिनेटमा अनिताले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ४–० गोलको जित दिलाईन् ।
यस जितसँगै समूह बी बाट नेपालले ३ अंक जोडेको । अब नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भदौ २८ गते श्रीलंकासँग खेल्नेछ ।
प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ । समूह ए मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ भने समूह बी मा आयोजक नेपाल, श्रीलंका र भुटान रहेको छ ।
समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल असोज ३ गते हुनेछ ।